हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


26 August 2014

मेरो समय अझसम्‍म आएको छैन

मेरो समय अझसम्‍म आएको छैन

“मेरो समय अझसम्‍म आएको छैन” यी शब्‍दहरू येशूले आफ्‍नो पहिलो आश्‍चर्य काम गरी सार्वजनिक सेवकाइ सुरु गर्नुभन्‍दा अघि गालीलको काना सहरमा भएको विवाहमा बोल्‍नुभएको थियो।
विवाहमा दाखमद्य सकिन लाग्‍दा मरियमले येशूलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन”। त्‍यस्‍तो अप्‍ठ्यारो अवस्‍थाको समाधान येशूले गर्नुसक्‍नुहुन्‍छ भनेर मरियमलाई केही हदसम्‍म थाहा थियो। येशूले जवाफ दिनुभयो: “हे नारी, मेरो लागि र तपाईंको लागि त्‍यो के हो ? मेरो समय अझसम्‍म आएको छैन।”
ती शब्‍दहरू भन्नुभएपछि अलि बेरमा अवस्‍था ठीक बनाउनको लागि येशूले अचम्‍मको चमत्‍कार गर्नुभएको कुरा बाइबल पढ्नेहरूको निम्‍ति अनौठो लाग्‍न सक्‍छ। विवाहको समस्‍या आफ्‍नो र मरियमको लागि ठूलो नठानेको जस्‍तो गरेर, त्‍यसपछि उहाँले सार्वजनिक सेवकाइको पहिलो चमत्‍कार गर्नुभयो। मरियम र येशूको चेलाहरूको सानो समूहको लागि त्‍यो सुन्‍दर दिन थियो तर येशू आफैलाई त्‍यस्‍तो थिएन। उहाँको तीन वर्षको सेवाकाइमा उहाँले अरू थुप्रै चमत्‍कारहरू पनि गर्नुभयो, तर जे गर्नको लागि उहाँ यस संसारमा आउनुभयो ती सबै कुरा उहाँको लागि साधारण थिए। उहाँका अनुयायीहरूको लागि त्‍यो कुराहरू महिमित भइसके तापनि उहाँको समयचाहिँ आएको थिएन र उहाँको सत्‍य महिमा पनि आएको थिएन। त्‍यो आउँदै थियो।
येशूले त्‍यस समयमा बुझ्‍नुभएको कुरा यूहन्नाले धेरै वर्षपछि, सायद सुसमाचारको पुस्‍तक लेख्‍दाखेरि बुझे। येशूले गर्नुभएको त्‍यो चमत्‍कारलगायत अरू चमत्‍कारहरू उहाँको चिन्‍हहरूको रूपमा यूहन्नाले वर्णन गरेका छन्। वास्‍तवमा तिनीहरूले आफैलाई नभएर आफूभन्‍दा ठूला कुराहरूलाई देखाइदिए। यूहन्ना आफैले येशूसँग बिताएका तीन वर्षको बारेमा थुप्रै किताबहरू लेख्‍न सक्‍ने थिए तर त्‍यसको सट्टामा येशूको आखिरी हप्‍ता, उहाँको मृत्‍यु, र उहाँको पुनरुत्‍थानको कुराहरूलाई उनले आफ्‍नो सुसमाचारको पुस्‍तकको आधाभन्‍दा बढ़ी भागमा उल्लेख गरेका छन्।
यूहन्नाको सुसमाचारमा केही समयपछि येशूको भाइहरूले पनि मरियमले गरेजस्‍तै गरे। झुप्रोबास (छाप्रो-वास) भनिने ठूलो राष्‍ट्रिय चाड़ मनाउन सारा देशभित्र र बाहिरबाट पनि यहूदीहरू यरूशलेममा आए। येशूले आफूलाई सार्वजनिक रूपमा चिनाउन त्‍यो उपयुक्त मौका थियो। “यो ठाउँ छड़ेर यहूदिया जानुहोस्, र तपाईंले गरिरहनुभएका कामहरू तपाईंका चेलाहरूले पनि देखून्। जुन मानिसले ख्‍याति प्राप्‍त गर्न चाहन्‍छ, त्‍यसले गुप्‍तमा काम गर्दैन। तपाईं यी कामहरू गर्नुहुन्‍छ भने आफूलाई संसारमा प्रकट गराउनुहोस्” भनेर उहाँका भाइहरूले भने (यूहन्ना ७:३,४)।
फेरि येशूले भन्नुभयो,“मेरो समय अझसम्‍म आएको छैन” । उहाँले केही दिन ढिला गर्नुभयो र गुप्त रूपमा चाड़मा जानुभयो। मन्‍दिरमा उहाँले सार्वजनिक रूपमा बोल्‍नुभयो। उहाँको कुराहरू सुनेर केही मानिसहरू रिसाए भनेर हामी पढ्छौँ। “यसकारण तिनीहरूले ऊहाँलाई पक्रन खोजे, तर कसैले उहाँमाथि हात हालेन, किनभने उहाँको समय अझ आइपुगेको थिएन” (यूहन्‍ना ७: ३०)।
त्‍यसको केही समयपछि हामी फेरी पढ्न सक्‍छौँ, “अनि कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझ आपुगेको थिएन” (यूहन्‍ना ८:२०)। अब हामी उहाँको समयको अर्थ के हो भनेर बुझ्‍न सुरु गर्छौं। उहाँको समयको अर्थ भनेको उहाँको मृत्‍यु हो।
उहाँको मृत्‍यु हुनुभन्‍दा चार दिन पहिले येशू गधामा चढ़ेर धुमधामसाथ येरूशलेममा प्रवेश गर्नुभयो। आउनुहुने राजाको बारेमा जकरियाले गरेको अगमवाणी पूरा भइरहेको कुरा त्‍यहाँ खुशी मनाइरहेका समूहहरूलाई थाहा थियो। त्‍यो घटना नयाँ राज्‍यरोहण समारोहजस्‍तै थियो। त्‍यसबखत बल्ल उहाँको समय आएको जस्‍तै देखिएको थियो तर पनि त्‍यो उहाँको ठीक समय थिएन।

मेरो समय आइपुगेको छ

उहाँको पूरा सार्वजनिक सेवकाइ सकिएपछि र मृत्‍यु नजिकै हुँदा अन्‍तमा येशूले यी कुराहरू भन्नुभयो, “मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ।”त्‍यसपछि उहाँले प्रार्थना गर्नुभयो, “अब मेरो प्राण व्‍याकुल भएको छ, र म के भनूँ? ‘हे पिता, मलाई यस समयबाट बचाउनुहोस्’? होइन, यसै कारणले नै म यस समयसम्‍म आइपुगेको छु। हे पिता, तपाईंका नाउँको महिमा गर्नुहोस्” (यूहन्ना १२: २३, २७, २८)
उहाँले चेलाहरूसँग अन्‍तिम निस्‍तार चाड़को भोजमा यिनै कुराहरू गर्नुभयो, “यस संसारबाट बिदा भएर पिताकहाँ जाने उहाँको समय आइपुग्‍यो भन्ने येशूले थाहा पाउनुभयो” भनेर हामी पढ्छौँ (यूहन्‍ना १३:१), अनि त्‍यसपछि त्‍यही रात येशूले आफ्‍नो अन्‍तिम महान् प्रार्थना यी शब्‍दहरूबाट सुरु गर्नुभयो, “हे पिता, समय आपुगेको छ, तपाईंको पुत्रको महिमा प्रकट गर्नुहोस्, र पुत्रले तपाईंको महिमा प्रकट गरोस्” (यूहन्‍ना १७: १)।
उहाँको महिमाको समयचाहिँ उहाँको मृत्‍युको समय थियो।
संसारका महान् मानिसहरूभन्‍दा येशू अति फरक हुनुहुन्‍छ। जब राष्‍ट्रपति वा प्रधान मन्‍त्रीले देशको सबैभन्‍दा उच्‍च पदको निम्‍ति शपथ खान्‍छन्, तब त्‍यो उनको जीवनको अभूतपूर्व र उदेकको क्षण हुन्‍छ। उनको समय आइपुगेको छ र सबैको दृष्‍टि उनैमा हुन्‍छ। उनले चार-पाँच वर्ष कार्यालयमा बिताएपछि सार्वजनिक रूपमा उनी हराउँदै जान्‍छन्। त्‍यसपछि उनको काम सकिन्‍छ। बीस-तीस वर्षपछि उनको मृत्‍यु हुँदामात्र उनको नाम याद गरिन्‍छ। त्‍यसभन्‍दा अघि समाचार र टि.भि.को मुख्‍य भागमा लामो समयदेखि उनको बारेमा सुनिएको नहुनसक्‍छ।
येशूको लागि उहाँको महिमाको समय ती शब्‍दहरूको अर्थ साधारण अर्थभन्‍दा ठीक विपरीत थियो। ३३ वर्षको जवान उमेरमा एक्‍लै र उहाँका सबै अनुयायीले त्‍यागिएको अवस्‍थामा र उहाँको पूरा काम असफल भएको जस्‍तो अनि दु:ख र पीडा सहेर उहाँ अपराधीको जस्‍तो मृत्‍यु मर्नुभयो।
तर मानिसहरूको आँखाले देख्‍न नसक्‍ने, संसारका सारा महान् पुरुषहरूले गरेकोभन्‍दा बढ्ता येशूले त्‍यस महा दु:ख को समयमा गर्नुभयो। अन्‍धकारका सबै फौजहरूलाई हराउनुभयो। उहाँको दु:ख र पीडाको समयले सारा मानव जातिलाई नाप्‍नै नसक्‍ने आशिष् ल्‍यायो। त्‍यस अविस्‍मरणीय क्षणमा उहाँले सबै दु:ख र आनन्‍दमा, सबै रोग र स्‍वास्‍थ्‍यमा, सबै घृणा र प्रेममा, सबै अन्‍धकार र उज्‍यालोमा, र सबै मृत्‍यु र जीवनमा परिवर्तन गर्नुभयो। सारा सृष्‍टिको गन्‍तव्‍य उहाँले फेर्नुभयो र विनाशको बन्‍धनबाट मुक्त गराउनुभयो।

अन्‍तमा जब हाम्रा आँखा खोलिनेछन् र सबै कुराहरू जस्‍तो देखिनु पर्ने हो, त्‍यस्‍तै देख्‍नेछौँ। त्‍यसपछि येशूको आखिरी प्रार्थना:“हे पिता, समय आइपुगेको छ, तपाईंका पुत्रको महिमा प्रकट गर्नुहोस्, र पुत्रले तपाईंको महिमा प्रकट गरोस्” भन्‍ने प्रार्थनाको जवाफ परमेश्‍वरले दिनुभयो भनेर हामीलाई थाहा हुनेछ र हामी उहाँको आराधना गर्नेछौँ।।

इशक तामांग

No comments:

Post a Comment