हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


2 July 2014

शत्रुको सुरुवात

शत्रुको सुरुवात


४, ५. (क) हव्वासित कुरा गर्ने वास्तवमा को थियो? (ख) नैतिकवान्‌ र इमानदार व्यक्ति कसरी चोर बन्न सक्छ?

४ बाइबलको पहिलो किताबमा एउटा साँपबारे बताइएको छ। त्यसले अदनको बगैंचामा हव्वालाई परमेश्वरबारे गलत कुरा भन्यो। तर वास्तवमा त्यस साँपको पछाडि बसेर बोल्ने अरू नै कोही थियो। बाइबलको अन्तिम किताबमा त्यस साँपलाई ‘सारा संसारलाई ठग्ने दियाबल अनि सैतान’ भनिएको छ। त्यसलाई “पुरानो सर्प” पनि भनिएको छ। (उत्पत्ति ३:१; प्रकाश १२:९) वास्तवमा यही शक्तिशाली स्वर्गदूतले नै हव्वासित कुरा गरेको थियो। चटकेले कठपुतलीले बोलेजस्तै गरी आवाज निकाल्छ। त्यस्तै गरी त्यस स्वर्गदूतले पनि हव्वासित कुरा गर्न सर्पलाई चलायो। त्यस स्वर्गदूतले परमेश्वरले पृथ्वी सृष्टि गर्नुभएको पनि पक्कै देखेको थियो।—अय्यूब ३८:४, ७.

५ यहोवाको सृष्टिमा कुनै खोट थिएन। त्यसोभए “सैतान” कहाँबाट  आयो त? सरल शब्दमा भन्ने हो भने परमेश्वरका शक्तिशाली स्वर्गदूतहरूमध्ये एकले आफूलाई सैतान बनायो। कसरी? उदाहरणको लागि, अहिले नैतिकवान्‌ र इमानदार भनेर नाम चलेको व्यक्ति भोलि चोर बन्न सक्छ। कसरी त्यस्तो हुन्छ? मनमा कुइच्छा खेलाएर। त्यस्तो कुइच्छा मनमा खेलाइरह्यो भने चोर्ने इच्छा झन्‌झन्‌ प्रबल हुँदै जान्छ। अन्तमा मौका पाउनेबित्तिकै उसले चोरिहाल्छ।—याकूब १:१३-१५.

६. शक्तिशाली स्वर्गदूत कसरी सैतान बन्यो?

६ सैतानको सन्दर्भमा पनि यस्तै भयो। परमेश्वरले आदम र हव्वालाई सन्तान जन्माएर पृथ्वी भर्दै जाओ भन्नुभएको थियो। (उत्पत्ति १:२७, २८) यो आज्ञा सैतानले सुनेको हुनुपर्छ। त्यसपछि सैतानले यस्तो कुइच्छा मनमा खेलायो होला: ‘मानिसहरूले परमेश्वरको सट्टा मेरो उपासना गरे कत्ति बेस हुन्थ्यो!’ त्यसको मनमा यो कुइच्छा झन्‌झन्‌ प्रबल हुँदै गयो। अन्तमा त्यसले हव्वालाई बहकाउन परमेश्वरको विषयमा झूट बोल्यो। (उत्पत्ति ३:१-५) यसरी त्यो “सैतान” बन्यो, जसको अर्थ “विरोधी” हो। अनि त्यो “दियाबल” पनि भयो, जसको अर्थ “निन्दक” हो।

७. (क) आदम र हव्वा किन मरे? (ख) आदमका सबै सन्तान किन बूढाबूढी हुन्छन्‌ र मर्छन्‌?

७ झूट र छलको सहारा लिएर सैतानले आदम र हव्वालाई परमेश्वरको आज्ञा उल्लङ्घन गर्न लगायो। (उत्पत्ति २:१७; ३:६) उहाँको आज्ञा पालन नगरेमा तिनीहरू मर्नेछन्‌ भनी परमेश्वरले पहिल्यै भन्नुभएको थियो। हुन पनि त्यस्तै भयो। यहोवाको आज्ञा उल्लङ्घन गरेर तिनीहरूले पाप गरे र उहाँको नजरमा त्रुटिपूर्ण भए। फलस्वरूप तिनका सबै सन्तान पनि जन्मजात पापी भए। (रोमी ५:१२) यसलाई बुझ्न रोटी पकाउने तावालाई उदाहरणको रूपमा लिनुहोस्। तावामा खोपिल्टा छ भने त्यसमा पकाएको सबै रोटीमा के हुन्छ? सबै रोटीमा दाग हुन्छ। त्यसैगरि आदम त्रुटिपूर्ण भएको हुनाले तिनका सबै सन्तान पनि त्रुटिपूर्ण भए। त्यसैकारण सबै बूढाबूढी हुन्छन्‌ र मर्छन्‌।—रोमी ३:२३.

८, ९. (क) सैतानले कस्तो चुनौती दियो? (ख) परमेश्वरले विद्रोहीहरूलाई किन उतिखेरै नाश गर्नुभएन?

 ८ सैतानले आदम र हव्वालाई परमेश्वरविरुद्ध पाप गर्न उक्साएर विद्रोहको बीउ रोप्यो। त्यसले यहोवाको शासन गर्ने तरिकालाई चुनौती दियो। वास्तवमा सैतानले यसो भनिरहेको थियो: ‘परमेश्वर असल शासक हुनुहुन्न। उहाँ झूट बोल्नुहुन्छ र आफ्नो प्रजाले असल कुरा  पाएको चाहनुहुन्न।’ त्यसले यसो पनि भन्न खोज्दै थियो: ‘मानिसलाई परमेश्वरको शासन चाहिंदैन। तिनीहरू आफै असल र खराब छुट्टयाउन सक्छन्‌। परमेश्वरको भन्दा मेरो शासन राम्रो छ।’ त्यस्तो अपमानजनक चुनौतीको परमेश्वरले कसरी जवाफ दिनुहुने थियो? परमेश्वरले ती विद्रोहीहरूलाई उतिखेरै खतम गर्नुपर्थ्यो भनी कसै-कसैले भन्छन्‌। तर त्यसो गर्दा सैतानको चुनौतीको जवाफ मिल्ने थियो र? के त्यसले परमेश्वरको शासन गर्ने तरिका ठीक छ भनेर प्रमाणित गर्ने थियो र?

९ उहाँ न्यायी परमेश्वर हुनुभएकोले विद्रोहीहरूलाई उतिखेरै नाश गर्न मिल्दैनथ्यो। त्यसैले सैतानको चुनौतीको चित्तबुझ्दो जवाफ दिन र त्यसलाई झूटो प्रमाणित गर्न समय चाहिन्थ्यो। त्यसैले मानिसजाति सैतानकै अधीनमा बसून्‌ र त्यसकै इशारामा केही समय शासन गरून्‌ भनेर यहोवाले तिनीहरूलाई स्वतन्त्र छोडिदिनुभयो। यहोवाले किन त्यसो गर्नुभयो र यो विवाद सुल्झाउन किन यति धेरै समय लगाउनुभयो, हामी अध्याय ११ मा छलफल गर्नेछौं। तर अहिले यी प्रश्न विचार गर्नुहोस्: आफ्नो लागि कहिल्यै केही असल काम नगरिदिने सैतानको कुरा के आदम र हव्वाले पत्याउनुहुन्थ्यो? सबै थोक दिने यहोवा निर्दयी अनि फटाहा हुनुहुन्छ भनी के तिनीहरूले पत्याउनुहुन्थ्यो र? तपाईं भए के गर्नुहुन्थ्यो?

१०. तपाईंले कसरी सैतानको चुनौतीको जवाफ दिन सक्नुहुन्छ?

१० हामीले यी प्रश्न विचार गर्नुपर्छ किनभने हामी सबै जना त्यही विवादमा मुछिएका छौं। तपाईंले यहोवाको पक्ष लिएर सैतानको चुनौतीको जवाफ दिने मौका पाउनुभएको छ। यहोवालाई आफ्नो शासक स्वीकारेर तपाईंले सैतानलाई झूटो प्रमाणित गर्न सक्नुहुन्छ। (भजन ७३:२८; हितोपदेश २७:११) तर दुःखको कुरा, थोरैले मात्र यसो गरेका छन्‌। यसको मतलब सैतानले साँच्चै नै यस संसारमा शासन गरिरहेको छ। तर वास्तवमा बाइबलले के सिकाउँछ?

 संसारको शासक को हो?
येशूतिर हात पसार्दै सैतानले संसारको सबै सरकार र राज्यहरू उहाँलाई दिने प्रस्ताव राख्छ
संसारको सबै राज्य आफ्नो नभएको भए सैतानले येशूलाई ती राज्य दिन्छु भन्न सक्थ्यो र?

११, १२. (क) सैतानले येशूलाई भनेको कुराबाट त्यो नै यस संसारको शासक हो भनी कसरी प्रस्ट हुन्छ? (ख) सैतान नै यस संसारको शासक हो भनी अरू कुन कुराले प्रमाणित गर्छ?

११ यस संसारको शासक सैतान हो भनेर येशूलाई राम्ररी थाह थियो। सैतानले एक चोटि चमत्कारपूर्ण ढङ्गमा येशूलाई “संसारका सबै राज्य र त्यसको गौरव” देखायो। त्यसपछि त्यसले यस्तो प्रतिज्ञा गऱ्यो: “यदि तपाईंले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक म तपाईंलाई दिनेछु।” (मत्ती ४:८, ९; लूका ४:५, ६) सोच्नुहोस् त, ती सबै राज्य आफ्नो नभएको भए के त्यसले येशूलाई त्यसरी लोभ देखाउन सक्थ्यो र? सबै राज्य सैतानकै हो भनेर येशूले नकार्नुभएन। नत्र त येशूले पक्कै खण्डन गर्नुहुने थियो।

१२ यहोवा सर्वशक्तिमान्‌ परमेश्वर र विशाल ब्रह्माण्डको सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा शङ्का छैन। (प्रकाश ४:११) तर बाइबलमा कतै पनि यहोवा परमेश्वर वा येशू ख्रीष्ट यस संसारको शासक हुनुहुन्छ भनी उल्लेख गरिएको छैन। वास्तवमा सैतान “यस संसारको शासक” हो भनेर येशूले स्पष्ट पार्नुभयो। (यूहन्ना १२:३१; १४:३०; १६:११) बाइबलले सैतानलाई “यस युगको ईश्वर” पनि भनेको छ। (२ कोरिन्थी ४:३, ४) त्यो विरोधी सैतानबारे येशूका चेला यूहन्नाले लेखे: “सारा संसार त्यस दुष्टको हातमा परेको छ।”—१ यूहन्ना ५:१९.

सैतानको शासन कसरी हटाइनेछ?
१३. अहिलेको संसारलाई किन हटाउनुपर्छ?

१३ संसार झन्‌झन्‌ खतरनाक हुँदै गइरहेको छ। संसार युद्ध, बेइमान राजनीतिज्ञ, कपटी धर्मगुरु र निष्ठुर अपराधीहरूले भरिएको छ। संसार सुधार्नै नसकिने गरी बिग्रिसकेको छ। त्यसैले यहोवाले यस दुष्ट संसारलाई चाँडै आरमागेडोनको युद्धमा नाश गर्नुहुनेछ। त्यसपछि नयाँ संसारको सुरुवात हुनेछ, जहाँ कुनै किसिमको अन्याय हुनेछैन।—प्रकाश १६:१४-१६.

१४. परमेश्वरले कसलाई आफ्नो सरकारको शासक नियुक्त गर्नुभएको छ? ती शासकबारे कस्तो भविष्यवाणी गरिएको थियो?

 १४ यहोवा परमेश्वरले येशू ख्रीष्टलाई स्वर्गमा स्थापित सरकारको शासक नियुक्त गर्नुभयो। धेरैअघि बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: “हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको हातमा हुनेछ। उहाँको नाउँ . . . शान्तिका राजकुमार कहलाइनेछ। उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन।” (यशैया ९:६, ७) येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।” (मत्ती ६:१०) परमेश्वरको राज्यले अब चाँडै संसारका सबै सरकार हटाएर आफ्नो शासन सुरु गर्नेछ भनी हामी यस किताबमा पछि अध्ययन गर्नेछौं। (दानियल २:४४) त्यसपछि परमेश्वरको राज्यले पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउनेछ।

नयाँ संसार नजिकै छ!
नयाँ संसारमा मानिसहरू गाउँदै, बाजागाजा बजाउँदै अनि रमाइलो गर्दै छन्‌
१५. “नयाँ पृथ्वी” भनेको के हो?

१५ बाइबल हामीलाई यस्तो आशा दिन्छ: “हामी परमेश्वरको प्रतिज्ञाबमोजिम नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दैछौं, जसमा न्यायले बास गर्छ।” (२ पत्रुस ३:१३; यशैया ६५:१७) बाइबलमा “पृथ्वी” शब्दले कहिलेकाहीं मानिसहरूलाई बुझाउँछ। (उत्पत्ति ११:१) त्यसैले न्यायले बास गर्ने “नयाँ पृथ्वी” भनेको परमेश्वरको स्तरबमोजिम चल्ने मानिसहरू मिलेर बनेको समाज हो।

१६. परमेश्वरले हामीलाई कस्तो जीवन दिनुहुनेछ र त्यो पाउन हामीले के गर्नुपर्छ?

१६ परमेश्वरको स्तरबमोजिम चल्ने मानिसहरूले नयाँ पृथ्वीमा “अनन्त जीवन” पाउनेछन्‌ भनी येशूले प्रतिज्ञा गर्नुभयो। (मर्कूस १०:३०) कृपया आफ्नो बाइबल पल्टाएर यूहन्ना ३:१६ र १७:३ हेर्नुहोस् र अनन्त जीवन पाउन हामीले के गर्नुपर्छ, थाह पाउनुहोस्। परमेश्वरले पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउनुहुनेछ र हामीलाई अनन्त जीवन दिनुहुनेछ। त्यतिखेर कस्ता आशिष्‌हरू पाउनेछौं, बाइबलबाटै विचार गरौं।

१७, १८. पृथ्वीमा शान्ति र सुरक्षा छाउनेछ भनी कसरी पक्का हुन सक्छौं?

 १७ दुष्टता, युद्ध, अपराध र हिंसा हुनेछैन। “दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌।” (भजन ३७:१०, ११) ‘पृथ्वीको अन्तसम्मै परमेश्वरले युद्धहरू रोक्नुहुने’ भएकोले शान्ति छाउनेछ। (भजन ४६:९; यशैया २:४) त्यसपछि “धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ।” यसको अर्थ कहिल्यै अशान्ति हुनेछैन!—भजन ७२:७.

१८ यहोवाका उपासकहरूले सुरक्षित जीवन बिताउनेछन्‌। प्राचीन समयका इस्राएलीहरूले परमेश्वरको आज्ञा पालन गर्दा उहाँको सुरक्षा पाए। (लेवी २५:१८, १९) पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाइएपछि त्यस्तै सुरक्षा पाउनेछौं!—यशैया ३२:१८; मीका ४:४.

१९. नयाँ पृथ्वीमा अनिकाल हुनेछैन भनेर किन भन्न सक्छौं?

१९ अनिकाल हुनेछैन। भजनरचयिताले यस्तो भजन गाए: “पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्त गरी अन्न हुनेछ।” (भजन ७२:१६) यहोवा परमेश्वरले आफ्ना जनलाई आशिष्‌ दिनुहुनेछ र ‘पृथ्वीले आफ्नो उब्जनी बढाउनेछ।’—भजन ६७:६.

२०. पूरै पृथ्वी सुन्दर बगैंचा बनाइनेछ भनी किन पक्का हुन सक्छौं?

२० पूरै पृथ्वी सुन्दर बगैंचा बनाइनेछ। अहिले खराब मानिसहरूले पृथ्वीलाई बिगारेका छन्‌। तर नयाँ संसारमा मानिसहरूले नयाँ-नयाँ सुन्दर घर र बगैंचाहरू बनाउनेछन्‌। (यशैया ६५:२१-२४; प्रकाश ११:१८) समय बित्दै जाँदा पूरै पृथ्वी अदनको बगैंचाजस्तै सुन्दर र हराभरा हुनेछ। अनि परमेश्वरले ‘आफ्नो मुठी खोल्नुहुनेछ र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुनेछ।’—भजन १४५:१६.

२१. मानिस र पशु मिलेर बस्नेछन्‌ भनी कुन कुराले देखाउँछ?

२१ मानिस र पशु मिलेर बस्नेछन्‌। जङ्गली जनावर र पाल्तुपशुहरू एकैसाथ चर्नेछन्‌। हिंस्रक जनावरहरू देखेर सानो बच्चासमेत डराउनुपर्नेछैन।—यशैया ११:६-९; ६५:२५.

२२. रोगबिमार के हुनेछ?

 २२ रोगबिमार हुनेछैन। पृथ्वीमा छँदा येशूले थुप्रै बिरामीलाई निको पार्नुभयो। (मत्ती ९:३५; मर्कूस १:४०-४२; यूहन्ना ५:५-९) परमेश्वरको राज्यको शासकको रूपमा उहाँले अझ व्यापक तवरमा निको पार्नुहुनेछ। नयाँ संसारका “बासिन्दाहरूले यसो भन्नेछैनन्‌, ‘म बिरामी परें।’”—यशैया ३३:२४; ३५:५, ६.

२३. मरिसकेका प्रियजन के हुनेछन्‌?

२३ मरिसकेका प्रियजन ब्यूँताइनेछन्‌। मृत्युको चिरनिद्रामा परेकाहरू जो परमेश्वरको सम्झनामा छन्‌, तिनीहरूलाई ब्यूँताइनेछ। “परमेश्वरको स्तरबमोजिम ज-जसले असल काम गरे अनि ज-जसले गरेनन्‌, तिनीहरू दुवै पुनर्जीवित हुनेछन्‌।”—प्रेषित २४:१५; यूहन्ना ५:२८, २९.

२४. प्रमोदवनमा जीवन बिताउने कुरा तपाईंलाई कस्तो लाग्यो?

२४ हाम्रा महान्‌ सृष्टिकर्ता यहोवा परमेश्वरबारे सिक्न र उहाँको सेवा गर्न चाहनेहरूसामु कस्तो उज्ज्वल भविष्य! येशूले आफ्नो मृत्यु हुनुअघि छेवैमा टाँगिएको अपराधीलाई प्रमोदवन अर्थात्‌ सुन्दर बगैंचाबारे यस्तो प्रतिज्ञा गर्नुभयो: “तिमी मसित प्रमोदवनमा हुनेछौ।” (लूका २३:४३) हामीले येशू ख्रीष्टबारे अझ धेरै कुरा सिक्नुपर्छ किनभने भर्खरै पढेको सबै आशिष्‌ उहाँद्वारै पाउनेछौं।




बाइबलले के सिकाउँछ?

No comments:

Post a Comment