हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


23 June 2014

“मैले विश्वास गरेकी छु”

“मैले विश्वास गरेकी छु”
१. मार्थालाई कस्तो लागिरहेको थियो? किन?

मार्था असाध्यै दुःखी छिन्‌। आफ्नो भाइको लासलाई ओडारभित्र राखेको र ढुङ्गाले ओडारको मुख बन्द गरेको दृश्य तिनले झलझली सम्झिरहेकी छिन्‌। तिनलाई सहिनसक्नु चोट परेको छ। आफ्नो प्यारो भाइ लाजरस अब यस संसारमा छैन भन्ने कुरा तिनलाई विश्वासै लागिरहेको छैन। चार दिन भयो मार्था शोकमा डुबेको। तिनलाई भेट्न आउने मानिसहरूको पनि घुइँचो लागेको छ।

२, ३. (क) येशूलाई भेटेपछि मार्थालाई कस्तो लाग्यो? (ख) मार्थाले भनेको महत्त्वपूर्ण कुराले तिनीबारे के बताउँछ?

२ अहिले मार्थाको अगाडि उभिरहेका पुरुष लाजरसका सबैभन्दा घनिष्ठ मित्र हुन्‌। पहाडी इलाकामा रहेको सानो गाउँ बेथानी नजिकै ती महान्‌ पुरुष येशूलाई देख्दा मार्थाको मनको घाउ झनै बल्झियो। किनभने संसारभरिमै उहाँ मात्र त्यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसले तिनको भाइलाई बचाउन सक्नुहुन्थ्यो। तर तिनी केही हदसम्म सान्त्वना पनि पाउँछिन्‌। येशूसित बिताएको त्यस छोटो समयमा उहाँको अनुहारमा दयाको भाव देख्दा तिनको वेदना अलिकति भए पनि कम हुन्छ। येशूले देखाउने समानुभूतिले तिनलाई सधैं सान्त्वना दिन्थ्यो। यतिबेला येशूले सोध्नुभएका प्रश्नहरूले तिनलाई आफ्नो विश्वास र पुनर्जीवनको आशामा ध्यान केन्द्रित गर्न मदत गर्छ। आफ्नो मुखबाट पहिला कहिल्यै ननिस्केको एकदमै महत्त्वपूर्ण कुरा बोल्न तिनी उत्प्रेरित हुन्छिन्‌। तिनी भन्छिन्‌: “तपाईं नै परमेश्वरका छोरा अनि संसारमा आउनेवाला ख्रीष्ट हुनुहुन्छ भनेर मैले विश्वास गरेकी छु।”—यूह. ११:२७.

३ मार्थाको विश्वास उल्लेखनीय थियो भनेर तिनको यो भनाइबाट देखिन्छ। बाइबलले तिनीबारे थोरै कुरा बताए तापनि त्यसले हाम्रो विश्वास बलियो बनाउन मदत गर्ने महत्त्वपूर्ण पाठ सिकाउँछ। यो कुरा थाह पाउन अब आउनुहोस्, मार्थाबारे बाइबलमा उल्लिखित पहिलो विवरण विचार गरौं।

‘तिमी ज्यादै चिन्ता गर्छ्यौ’
४. मार्थाको परिवार कस्तो थियो? येशूसित यो परिवारको सम्बन्ध कस्तो थियो?

४ महिनौंअघिको कुरा हो। त्यतिबेला लाजरस स्वस्थ थिए। उनको घर बेथानीमा  सबैभन्दा विशेष पाहुना येशू ख्रीष्ट आउनै लाग्नुभएको थियो। लाजरस, मार्था र मरियम एउटै घरमा बस्थे जस्तो देखिन्छ। केही अनुसन्धानकर्ताअनुसार तीन जनामध्ये मार्था जेठी हुनुपर्छ। किनकि घरमा पाहुनाको स्वागत गर्न तिनी नै अघि सर्थिन्‌ जस्तो देखिन्छ। तीन जनाको नाम उल्लेख गर्दा पनि पहिला मार्थाकै नाम उल्लेख गरेको पाइन्छ। (यूह. ११:५) तीन जनामध्ये कसले विवाह गरे, कसले गरेनन्‌, हामीलाई थाह छैन। जेहोस्, तिनीहरू येशूका मिल्ने साथीहरू थिए। यहूदियामा आफ्नो सेवाको दौडान तीनथुप्रो विरोध र खतरा आइपर्दा येशू तिनीहरूको घरमा बस्नुभएको थियो। त्यस्तो अवस्थामा तिनीहरूको साथ पाउँदा उहाँ तिनीहरूप्रति निकै कृतज्ञ हुनुभयो भन्ने कुरामा कुनै शङ्का छैन।

५, ६. (क) येशू आउने बेला मार्था के काममा व्यस्त थिइन्‌? (ख) येशू तिनीहरूको घरमा आइसकेपछि मरियमले के गरिन्‌?

५ पाहुनाहरूको सत्कार गर्न मार्थाले गर्नुपर्ने काम धेरै बाँकी थियो। मार्था निकै मेहनती थिइन्‌। तिनलाई जहिले पनि कामको चटारो पर्थ्यो जस्तो देखिन्छ। येशू आउनुभएको बेला पनि त्यस्तै थियो। मार्था आफ्नो विशेष पाहुना येशू र सायद उहाँका सहयात्रीका लागि थरीथरीका परिकार तयार पार्न व्यस्त थिइन्‌। अतिथि-सत्कारलाई त्यसबेला निकै महत्त्व दिइन्थ्यो। पाहुना आइपुगेपछि तिनलाई चुम्बन गरेर, तिनको जुत्ता फुकालिदिएर, खुट्टा धोइदिएर र टाउकोमा सुगन्धित तेल घसिदिएर स्वागत गरिन्थ्यो। (लूका ७:४४-४७ पढ्नुहोस्) खानपिन र बासको राम्रो प्रबन्ध गरेर पाहुनाको ख्याल राख्नु त्यतिबेलाको चलन थियो।

६ त्यो सत्कारको तयारी गर्न मार्था र मरियम एकदमै व्यस्त थिए। आफ्नी दिदीभन्दा संवेदनशील र विचारशील मानिएकी मरियमले दिदीलाई सुरुमा त पक्कै मदत गरेकी हुनुपर्छ। तर येशू आएपछि भने त्यहाँको वातावरण अर्कै भयो। येशूको लागि त्यो जमघट सिकाउने एउटा राम्रो मौका थियो र उहाँले त्यसको सदुपयोग गर्नुभयो। त्यतिबेलाका धार्मिक नेताहरू स्त्रीजातिको आदर गर्दैनथे। तर येशूले भने स्त्रीहरूको आदर गर्नुभयो। उहाँले आफ्नो प्रचारकार्यको मुख्य विषय परमेश्वरको राज्यबारे तिनीहरूलाई खुसीसाथ सिकाउनुभयो। येशूको खुट्टानेर बसेर मरियमले उहाँका प्रत्येक कुरा ध्यान दिएर सुनिन्‌। यस्तो मौका पाउँदा उनी निकै खुसी थिइन्‌।

७, ८. के कुराले गर्दा मार्थाको तनाव अझै बढ्यो? आखिरमा तिनले के भनिन्‌?

७ मार्थालाई कत्ति तनाव भएको थियो, हामी कल्पना गर्न सक्छौं। एकातिर विभिन्न परिकार तयार पार्नुपर्ने अनि अर्कोतिर पाहुनाहरूको हेरचाह गर्नुपर्ने! तिनलाई त सास फेर्ने फुर्सदसमेत थिएन। घरी यता त घरी उता। मरियम नि? त्यस्तो बेला काम सघाउनु त कता हो कता आरामसित पो बसिरहेकी छिन्‌ त! बहिनीलाई देखेर मार्था रिसले मुरमुरिइन्‌ कि? अथवा निधार खुम्च्याउँदै मरियमलाई आँखा तरिन्‌ कि? तिनले त्यसो गरेकी भए पनि अचम्म मान्नुपर्ने कुनै कारण छैन। किनभने तिनी एक्लैले सबै काम कसरी भ्याउनु!

 ८ आखिर मार्थाले आफ्नो रिस थामिराख्न सकिनन्‌। तिनले येशूको कुरा बीचमै काटेर यसो भनिन्‌: “प्रभु, मेरी बहिनीले सबै काम म एक्लैलाई छोडेको के तपाईंलाई वास्ता छैन? मलाई सघाउन उसलाई भनिदिनुहोस् न।” (लूका १०:४०) तिनका यी शब्दहरू निकै कडा थिए। तिनले आफूलाई काममा सघाउन आफ्नी बहिनीलाई सम्झाइदिनुहोस् भनेर येशूलाई भनिरहेकी थिइन्‌।

९, १०. (क) येशूले मार्थालाई कस्तो जवाफ दिनुभयो? (ख) मार्थाले गरेको मेहनतलाई येशूले बेकारको सम्झिरहनुभएको थिएन भनेर हामी किन भन्न सक्छौं?

९ येशूको जवाफ सुन्दा थुप्रै बाइबल पाठकजस्तै मार्था पनि छक्क परेकी हुनुपर्छ। उहाँले मायालु तरिकामा भन्नुभयो: “ए मार्था, मार्था, तिमी धेरै कुराको ज्यादै चिन्ता गर्छ्यौ। हामीलाई धेरै कुरा चाहिंदैन, एउटा मात्रै भए पनि पुग्छ। मरियमले आफ्नो निम्ति असल भाग रोजेकी छे र त्यो ऊबाट खोसिनेछैन।” (लूका १०:४१, ४२) येशूले के भन्न खोजिरहनुभएको थियो? मार्था भौतिक कुराहरूका बारेमा ज्यादै फिक्री गर्छिन्‌ भन्न खोजिरहनुभएको थियो कि? येशूको लागि भनेर स्वादिष्ठ भोजन तयार पार्न मार्थाले गरेको त्यत्रो मेहनतलाई उहाँले बेकारको सम्झिरहनुभएको थियो कि?

मरियम येशूको खुट्टानजिकै बसेर उहाँको कुरा सुनिरहेकी छिन्‌; मार्थाचाहिं स्वादिष्ठ भोजन बनाउनमा व्यस्तछिन्‌ र मरियमलाई देखेर दिक्क मान्दैछिन्‌
“धेरै कुराको ज्यादै चिन्ता” गरे तापनि मार्थाले नम्र भई सल्लाह स्वीकारिन्‌

१० अहँ, थिएन। मार्थाको मन सफा थियो अनि मायाले भरिएको थियो भन्ने कुरा उहाँले राम्ररी बुझ्नुभएको थियो। साथै प्रशस्त खानेकुरा बनाएर अतिथि-सत्कार गर्नु नै गलत हो भन्ने पनि उहाँलाई लागेको थिएन। केही समयअघि मात्र मत्तीले उहाँको लागि तयार गरेको “ठूलो भोज”-मा उहाँ खुसीसाथ जानुभएको थियो। (लूका ५:२९) यहाँ येशूले खानेकुराबारे होइन तर मार्थाको प्राथमिकताबारे कुरा गरिरहनुभएको थियो। तिनी तीनथुप्रो खानेकुरा पकाउनमा यत्ति व्यस्त भइन्‌ कि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो, त्यो नै तिनले बिर्सिन्‌। त्यो महत्त्वपूर्ण कुरा के थियो?

मार्थाको अतिथि-सत्कारप्रति येशू कृतज्ञ हुनुभयो; तिनको मन सफा थियो अनि मायाले भरिएको थियो भनेर उहाँलाई थाह थियो
११, १२. येशूले मार्थालाई कसरी सच्याउनुभयो?

११ यहोवाको एक मात्र छोरा येशू सत्य सिकाउन मार्थाको घरमा आउनुभएको थियो। कुनै पनि कुरा, यहाँसम्म कि तिनले मेहनत गरेर बनाएको खानेकुरा पनि येशूको शिक्षाभन्दा महत्त्वपूर्ण हुन सक्दैनथ्यो। मार्थाले आफ्नो विश्वास बलियो बनाउने सुनौलो मौका गुमाएको देख्दा येशू पक्कै पनि दुःखी हुनुहुन्थ्यो। तैपनि उहाँले मार्थालाई आफ्नो छनौट आफै गर्न दिनुभयो। * तर मार्थाले मरियमलाई पनि यो मौकाबाट वञ्चित गराउन खोज्नु उचित थिएन।

१२ त्यसकारण उहाँले मार्थाको रिस शान्त पार्न पटक-पटक तिनको नामै लिएर  सम्बोधन गर्दै तिनलाई मायालुपूर्वक सच्याउनुभयो। अनि “धेरै कुराको ज्यादै चिन्ता” गर्नु आवश्यक छैन भनेर आश्वस्त पार्नुभयो। विशेषगरि आध्यात्मिक भोजन उपलब्ध भइरहेको बेला एउटा वा दुइटा परिकार मात्र भए पनि पुग्थ्यो। मरियमले “असल भाग” रोजेकी थिइन्‌ अर्थात्‌ येशूबाट सिक्ने छनौट गरेकी थिइन्‌। त्यसकारण उनीबाट यो मौका कुनै पनि हालतमा उहाँले खोसिन दिनुहुने थिएन!

१३. येशूले मार्थालाई भन्नुभएको कुराबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१३ मार्थाको घरमा भएको यस घटनाबाट आज ख्रीष्टका अनुयायीहरूले राम्रा पाठहरू सिक्न सक्छन्‌। हामीलाई “परमेश्वरको मार्गनिर्देशनको खाँचो” छ, त्यसैले यो आवश्यकता पूरा गर्नदेखि कुनै पनि कुराले कहिल्यै बाधा पुऱ्याउन दिनु हुँदैन। (मत्ती ५:३) हामी मार्थाको उदारता र मेहनतको अनुकरण गर्न चाहन्छौं तर अतिथि-सत्कार  गर्ने सन्दर्भमा खासै महत्त्वपूर्ण नभएको पक्षमा “ज्यादै चिन्ता” गरेर सबैभन्दा महत्त्वपूर्ण कुरा कहिल्यै गुमाउन चाहँदैनौं। हामी एकदमै महँगो र भव्य परिकार खुवाउने वा खाने उद्देश्यले मात्र होइन, बरु एक-अर्कालाई प्रोत्साहन दिने र परमेश्वरबाट पाएको वरदानद्वारा अरूलाई लाभ पुऱ्याउने उद्देश्यले सँगी विश्वासीहरूसित सङ्गत गर्छौं। (रोमी १:११, १२ पढ्नुहोस्) खानेकुरा साधारण खालकै भए पनि सरसङ्गत उत्थानदायी हुन सक्छ।

प्यारो भाइसँगको बिछोड र पुनर्मिलन
१४. सल्लाह स्वीकार्ने सन्दर्भमा मार्थाले राम्रो उदाहरण बसालिन्‌ भनेर हामी किन भन्न सक्छौं?

१४ के मार्थाले येशूको मायालु सल्लाह स्वीकारेर आवश्यक छाँटकाँट गरिन्‌? तिनले त्यसो गरिन्‌ भन्ने कुरामा कुनै सन्देह छैन। मार्थाका भाइबारे उल्लेख गरिएको रोमाञ्चक विवरणमा प्रेषित यूहन्ना हामीलाई सम्झाउँछन्‌: “मार्था, तिनकी बहिनी र लाजरसलाई येशू माया गर्नुहुन्थ्यो।” (यूह. ११:५) यो विवरण येशू बेथानीमा मार्थाकहाँ जानुभएको महिनौंपछिको हो। येशूले दिनुभएको मायालु सल्लाहले गर्दा मार्था गम्केर बसिनन्‌ न त उहाँप्रति मनमा रिस नै पालेर राखिन्‌। तिनले येशूको सल्लाह स्वीकारिन्‌। यस सन्दर्भमा पनि तिनले हाम्रो लागि विश्वासको उत्कृष्ट उदाहरण बसालिन्‌। आखिर हामीमध्ये कसलाई पो सल्लाहको खाँचो पर्दैन र?

१५, १६. (क) आफ्नो भाइ बिरामी भएको बेला मार्थाले कसरी हेरचाह गरेकी हुनुपर्छ? (ख) मार्था र मरियमको आशा किन चकनाचुर भयो?

१५ आफ्नो भाइ बिरामी पर्दा मार्था उनको हेरचाह गर्नमा पक्कै व्यस्त भइन्‌। भाइलाई निको पार्न तिनले सकेजति सबै गरिन्‌। तर जति नै हेरविचार गरे पनि लाजरस सिकिस्त हुँदै गए। उनका दिदीहरूले उनलाई एकपल पनि छोडेनन्‌। वर्षौंसम्म सँगै बिताएका सुख-दुःखका पलहरू झलझली सम्झँदै मार्थाले आफ्नो भाइको मायालाग्दो अनुहार हेरिरहिन्‌ होली।

१६ लाजरसलाई बचाउन अब केही गर्न सकिंदैन जस्तो लागेपछि मार्था र मरियमले येशूकहाँ सन्देश पठाए। उहाँ लगभग दुई दिन टाढा पर्ने इलाकामा प्रचार गर्दै हुनुहुन्थ्यो। तिनीहरूले यस्तो खबर पठाए: “प्रभु, हेर्नुहोस्, जसलाई तपाईं माया गर्नुहुन्छ, तिनी बिरामी परेका छन्‌।” (यूह. ११:१, ३) येशूले लाजरसलाई माया गर्ने भएकोले आफ्नो मित्रलाई बचाउन सक्दो गर्नुहुनेछ भनेर तिनीहरू विश्वस्त थिए। के तिनीहरू येशू छिट्टै आइपुग्नुहुनेछ भन्ने आशा गरेर बसिरहेका थिए? थिए भने तिनीहरूको त्यो आशा चकनाचुर भयो। किनकि लाजरसको मृत्यु भयो।

१७. मार्था किन अचम्म परेकी हुनुपर्छ? येशू आउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि तिनले के गरिन्‌?

१७ मार्था र मरियम आफ्नो भाइको मृत्युले शोकविह्वल भए। तिनीहरू आफ्नो भाइको अन्त्येष्टिको तयारी गर्न व्यस्त थिए। बेथानी अनि वरपरबाट मलामीहरू आएकोले गर्दा पनि तिनीहरू झनै व्यस्त भए। येशूको भने कुनै अत्तोपत्तो थिएन। उहाँ आउनुपर्ने हो, तर अझसम्म नआइपुगेकोले मार्था निकै अचम्म परेकी हुनुपर्छ। चार  दिनपछि बल्ल येशू आउँदै हुनुहुन्छ भन्ने खबर मार्थाले सुनिन्‌। सधैं चल्तापुर्जा मार्था यस्तो दुःखको घडीमा समेत यो खबर पाउनेबित्तिकै मरियमलाई केही खबर नगरी येशूलाई भेट्न दौडिहालिन्‌।—यूहन्ना ११:१८-२० पढ्नुहोस्।

१८, १९. मार्थाले कस्तो आशा व्यक्त गरिन्‌? तिनको विश्वास किन उल्लेखनीय थियो?

१८ आफ्नो गुरुलाई भेट्नेबित्तिकै मार्थाले यसो भनिन्‌: “हे प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” मरियम र मार्थाको मनमा धेरै समयदेखि त्यही कुरा खेलिरहेको थियो। तर मार्थाको आशा र विश्वास अझै पनि मरेको थिएन। तिनले अझ यसो भनिन्‌: “अनि अहिले पनि मलाई थाह छ, तपाईंले परमेश्वरसित जेसुकै माग्नुभए तापनि उहाँले तपाईंलाई दिनुहुनेछ।” तिनको विश्वास बलियो बनाउन येशूले तुरुन्तै भन्नुभयो: “तिम्रो भाइ ब्यूँतनेछ।”—यूह. ११:२१-२३.

१९ येशूले भविष्यमा हुने पुनर्जीवनबारे कुरा गर्दै हुनुहुन्छ भन्ने सोचेर मार्थाले जवाफ दिइन्‌: “मलाई थाह छ, अन्तको दिनमा पुनर्जीवित हुँदा ऊ ब्यूँतनेछ।” (यूह. ११:२४) पुनर्जीवनको शिक्षाबारे तिनको विश्वास उल्लेखनीय थियो। हिब्रू धर्मशास्त्रमा  पुनर्जीवनबारे स्पष्ट बताइएको भए तापनि सदुकी भनेर चिनिने यहूदी धार्मिक नेताहरू पुनर्जीवनमाथि विश्वास गर्दैन थिए। (दानि. १२:१३; मर्कू. १२:१८) हुन त येशूले मरेको लामो समय भइसकेको व्यक्तिलाई ब्यूँताएको मार्थाले देखेकी त थिइनन्‌ तैपनि उहाँले पुनर्जीवनको आशाबारे सिकाएको र मरेको मान्छेलाई जिउँदो पारेको कुरा भने तिनलाई थाह थियो। तर अब हुन लागेको कुरा भने तिनलाई थाह थिएन।

२०. यूहन्ना ११:२५-२७ मा भएको येशूका अविस्मरणीय शब्दहरूको अर्थ के थियो? अनि मार्थाको जवाफको अर्थ नि?

२० त्यसपछि येशूले एउटा अविस्मरणीय कुरा बताउनुभयो: “पुनर्जीवन र जीवन मै हुँ।” हो, मरेकाहरूलाई भविष्यमा विश्वव्यापी तवरमा पुनर्जीवित पार्ने अख्तियार यहोवा परमेश्वरले आफ्नो छोरालाई दिनुभएको छ। येशूले मार्थालाई सोध्नुभयो: “के तिमी यो कुरा विश्वास गर्छ्यौ?” त्यसपछि तिनले यस अध्यायको सुरुतिर उल्लेख गरिएको जवाफ दिइन्‌। येशू नै ख्रीष्ट अर्थात्‌ मसीह हुनुहुन्छ, उहाँ यहोवा परमेश्वरका छोरा हुनुहुन्छ र यस संसारमा आउने व्यक्ति भनेर भविष्यवक्ताहरूले बताएको व्यक्ति पनि उहाँ नै हुनुहुन्छ भनेर तिनी विश्वास गर्थिन्‌।—यूह. ५:२८, २९; यूहन्ना ११:२५-२७ पढ्नुहोस्।

२१, २२. (क) शोक गरिरहेकाहरू देखेर येशूलाई कस्तो लाग्यो? (ख) लाजरस पुनर्जीवित भएको विवरण बताउनुहोस्।

२१ के यहोवा परमेश्वर र उहाँको छोरा येशू मार्थाको जस्तो विश्वासको कदर गर्नुहुन्छ? यसपछि मार्थाकै आँखासामु भएको घटनाले यसको स्पष्ट जवाफ दियो। तिनी आफ्नी बहिनीलाई बोलाउन हतारिंदै गइन्‌। यतिबेला तिनले मरियम र उनीसँगै शोक गरिरहेका मानिसहरूसित येशूले कुरा गरिरहेको देखिन्‌। येशू पनि असाध्यै दुःखी हुनुहुन्थ्यो। मृत्युको चोटले गर्दा येशूको आँखा पनि आँसुले भरिएको मार्थाले देखिन्‌। त्यसपछि येशूले ओडारको मुखबाट ढुङ्गा हटाउने आदेश दिनुभएको तिनले सुनिन्‌।—यूह. ११:२८-३९.

२२ मार्था सधैं सोचविचार गरेर बोल्थिन्‌। अहिले पनि आफ्नो भाइ मरेको चार दिन भइसकेकोले अब त गन्हाउन थालिसक्यो होला भनेर तिनले बताइन्‌। येशूले तिनलाई सम्झाउनुभयो: “के मैले तिमीलाई भनिनँ, यदि तिमीले ममाथि विश्वास गऱ्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछ्यौ?” तिनले विश्वास गरिन्‌ र यहोवा परमेश्वरको महिमा देखिन्‌। यहोवाले लाजरसलाई पुनर्जीवित पार्न आफ्नो छोरालाई त्यत्ति नै खेर शक्ति दिनुभयो। मार्थाले आफ्नो भाइ ब्युँतदाको क्षण कहिल्यै बिर्सन सकिनन्‌। यी पलहरूबारे सोच्नुहोस्: “ए लाजरस, बाहिर आऊ!” भनेर येशूले ठूलो सोरमा भन्नुहुन्छ; कपडाले बेह्रिएको लाजरस चिहानबाट ब्युँतिएर सरक-सरक हिंड्दै ओडारको मुखमा आउँछन्‌; “उसलाई फुकाइदेओ र जान देओ” भन्दै येशूले आदेश दिनुहुन्छ अनि मार्था र मरियम आफ्नो भाइलाई गम्लङ्ङ अँगालो हाल्छन्‌। (यूहन्ना ११:४०-४४ पढ्नुहोस्) बल्ल निको भयो मार्थाको मनको घाउ!

लाजरस मार्था र मरियमलाई अँगालो हाल्छन्‌
मार्थाले येशूमाथि विश्वास गरेकीले इनामस्वरूप आफ्नो भाइ पुनर्जीवित भएको हेर्न पाइन्‌

२३. यहोवा र येशू तपाईंको लागि के गर्न चाहनुहुन्छ? तपाईंले चाहिं के गर्नुपर्छ?

 २३ मरेकाहरू फेरि ब्युँतने कुरा काल्पनिक होइन बरु यो एउटा वास्तविक इतिहास र बाइबलको मनै छुने शिक्षा हो भनेर यस विवरणले देखाउँछ। (अय्यू. १४:१४, १५) यहोवा र उहाँको छोराले मार्था, मरियम र लाजरसलाई तिनीहरूको विश्वासको इनाम दिनुभयो। उहाँहरू हामीलाई पनि त्यसैगरि इनाम दिन इच्छुक हुनुहुन्छ। तपाईंले पनि विश्वास बलियो बनाउनुभयो भने उहाँहरूबाट इनाम पाउनुहुनेछ।

“मार्था सेवा-टहल गरिरहेकी थिइन्‌”
२४. मार्थाबारे बाइबलमा दिइएको सबैभन्दा अन्तिम विवरण कुन हो?

२४ बाइबलले मार्थाबारे अब एक चोटि मात्र उल्लेख गरेको छ। पृथ्वीमा येशूको जीवनको अन्तिम हप्ताको कुरा हो। भविष्यमा कस्ता कठिनाइहरू आइपर्नेछन्‌ भनेर राम्ररी थाह भएकोले येशूले बेथानीमा आफ्नो मित्र लाजरसको घरमा फेरि बस्ने इच्छा गर्नुभयो। त्यहाँबाट तीन किलोमिटरको बाटो हिंडेर उहाँ यरूशलेम जानुहुने थियो। येशू र लाजरस कुष्ठरोगी सिमोनको घरमा भोजन गर्दै हुनुहुन्थ्यो। मार्थाबारे बाइबलमा रेकर्ड गरिएको अन्तिम कुरा यही हो: “मार्था सेवा-टहल गरिरहेकी थिइन्‌।”—यूह. १२:२.

२५. मार्था जस्तै स्त्रीहरू हुनु मण्डलीको लागि किन आशिष्‌को कुरा हो?

२५ कत्ति जाँगरिली! बाइबल विवरणमा पहिलो पटक देखा पर्दा मार्था काम गरिरहेकी थिइन्‌ भने अन्तिम पटक पनि अरूको आवश्यकता पूरा गर्न तिनी सकेजति गरिरहेकी थिइन्‌। आज ख्रीष्टका अनुयायीहरूको मण्डलीमा पनि आत्मत्याग देखाएर सधैं आफ्नो विश्वासअनुसार चल्ने मार्थाजस्तै साहसी र उदार स्त्रीहरू हुनु साँच्चै आशिष्‌को कुरा हो। के मार्थाले पछिसम्म पनि त्यसै गरिरहिन्‌? हुन सक्छ। त्यसो हो भने तिनी बुद्धिमानीसाथ चलिन्‌ किनभने तिनले अझ धेरै बाधाविघ्नको सामना गर्न बाँकी नै थियो।

२६. मार्थाको विश्वासले तिनलाई के गर्न मदत गऱ्यो?

२६ केही दिनपछि नै मार्थाले आफ्नो प्यारो गुरु येशूको डरलाग्दो मृत्युको चोट सहनुपऱ्यो। त्यसमाथि येशूका हत्याराहरू लाजरसलाई पनि मार्न लागिपरेका थिए किनभने उनी पुनर्जीवित भएकोले थुप्रै मानिसले येशूलाई विश्वास गर्न थालेका थिए। (यूहन्ना १२:९-११ पढ्नुहोस्) आखिरमा मृत्युको कारण मार्थाले फेरि आफ्नो प्यारो भाइ र प्यारी बहिनीसितको मायालुसाथ गुमाइन्‌। लाजरसको मृत्यु कहिले अथवा कसरी भयो, हामीलाई थाह छैन। तर यतिचाहिं पक्का छ, आफ्नो अमूल्य विश्वासले मार्थालाई अन्तसम्म सहन बल दियो। त्यसैकारण आज ख्रीष्टियनहरूले मार्थाको विश्वास अनुकरण गर्नुपर्छ।

यसबारे सोच्नुहोस् . . .
येशूले मार्थालाई दिनुभएको सल्लाहबाट हामी कस्तो पाठ सिक्न सक्छौं?
मार्था उदार अनि मेहनती थिइन्‌ भनेर कसरी देखिन्छ?
मार्थाले कसरी असाधारण विश्वास देखाइन्‌?
तपाईं कसरी मार्थाको विश्वास अनुकरण गर्न चाहनुहुन्छ?


No comments:

Post a Comment