येशू कहाँ जाँदैहुनुहुन्थ्यो?
यूहन्ना १४:४,५मा पढ्छौँ, “जहाँ म गइरहेछु, तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ।” थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ, हामी जान्दैनौँ, तब हामीले बाटो कसरी चिन्ने ?”
आजकलका धेरै विश्वासीहरूले जस्तै थोमाले पनि प्रभु येशूको कुरा बुझेनन्। तिनी मूर्ख नै भएका त होइन तर सारा मानव-जातिलाई ढाक्ने अन्धकारले थोमाको मनलाई पनि ढाकेको थियो। प्रभुको यो कुरा थोमालेझैँ अरू चेलाहरूले पनि बुझेनन् तर थोमाले मात्र नहिचकिचाई प्रभुलाई सोधे। थोमाले प्रभुले भनेको कुरा थप जानकारीसहित विस्तृत रूपमा नबुझेजस्तै, हामीले पनि उहाँको वचन नबुझेको हुन सक्छौँ।
यूहन्ना १४:९,१० मा येशूले चेलाहरूलाई यसरी बुझाउनुभयो, “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ। म पितामा छु, र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ?”(यूहन्ना १०:३० मा, “पिता र म एक हौँ” भनेर प्रभुले भनिसक्नुभएको थियो।)
पिताकहाँ जाने र पितासँग एकै भएको कुरा भनिसकेपछि, पवित्र आत्माको बारेमा येशू यसरी बोल्न लाग्नुभयो, “म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ। उहाँ सत्यका आत्मा हुनुहुन्छ, जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई नता देख्छ न चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ।” यी शब्दहरू बोलेपछि तुरुन्तै येशूले १८ पदमा यसरी प्रतिज्ञा गर्नुभयो, “म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु”। यसको लगतै पछि, २३ पदमा, “मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौँ, र त्यससँग वास गर्नेछौँ।”
१४ अध्यायमा तीनचोटि येशूले फेरि आउँछु भन्नुभएको हामीले सुनिसक्यौँ।
- ३ पद: “म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु।”
- १८ पद: “म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।”
- २३ पद: “मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौँ, र त्यससँग वास गर्नेछौँ।”
यी तीन वाक्यका छुट्टा-छुट्टै अर्थ हुन सक्दैन। तेश्रो वाक्यमा येशूले “हामी” भन्ने शब्द प्रयोग गर्नुभयो। त्यसो भन्नुको अर्थ आफैमात्र नभएर, पिता पनि आउनुहुन्छ भन्ने हो। यो लामो वृतान्तमा पवित्र आत्मा आउनुहुने कुरा येशूले दोहोर्याउनुभयो। भिन्दा-भिन्दै आगमन हुने हो त ? म विश्वास गर्छु, यी आगमनहरू सबै एउटै हुन्।पेन्तिकोसको दिनमा भएको पवित्र आत्माको आगमन पिताको हो र पुत्रको पनि थियो।
२ र ३ पद फेरि पढेर हेरौँ: “मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए, के म तिमीहरूलाई भन्ने थिइन, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु ? अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।”
शारीरिक रूपमा येशू आफ्ना चेलाहरूलाई छोड्न लाग्नुभएको थियो। तर उहाँ र उहाँका पिता आएर तिनीहरूमा आफ्ना वासस्थान बनाउन लाग्नुभएको थियो। यी वासस्थानहरूचाहिँ आकाशमा भएका ठूला ठूला घरहरू होइनन्। वासस्थान त उहाँका विश्वासीहरूका हृदय हुन्, अथवा हामी नै ती वासस्थान हौँ।
“जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ”। भनेर येशूले भन्नुभयो। याद गर्नुहोस्- “जहाँ म हुनेछु,” भनेर भन्नुभएन तर यसो भन्नुभयो- “जहाँ म छु”।तीन वर्षअघि गालीलमा भेट भएको दिनदेखि प्रभु येशू र उहाँका चेलाहरू शारीरिक रूपमा एउटै ठाउँमा थिए। आत्मिक रूपमा भने एउटै ठाउँमा थिएनन्। भेट्ने बित्तिकै उहाँ हामीहरूभन्दा उच्च हुनुहुन्छ भनेर चेलाहरूले चाल पाइहाले। ”जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।” कस्तो उदेकको प्रतिज्ञा ! सोची हेर्नुहोस् त, महिमित आत्मिक सत्यतामा आज हुन पाउनु त भविष्यमा एउटा आकाशमा प्राकृतिक भवन हुनुभन्दा उत्तम हो।
शाब्दिक शारीरिक व्यक्तिगत रूपले प्रभु येशू दोश्रो चोटि आउनुहुन्छ भन्ने शिक्षा लाखौँ मसिहीहरूले पाएका हुन्छन्। धर्मशास्त्रका यस्ता विशेष पदहरूमा दोश्रो आगमनको शिक्षा आधारित भएको हुन्छ:
- “म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ”
- तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा आइरहेको देख्नेछन्”
- “यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ”
- “हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेटन साथसाथै बादलमा उठाइलगिनेछौँ, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौँ”
- “हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ”
यस अध्ययनमा शारीरिक हिसाबले भन्दा आत्मिक हिसाबले धर्मशास्त्र कसरी पुर्ण हुन्छ सो हेर्यौँ।
मान्छेको मनमा शङ्का भरिदिनलाई यो भनेको होइन तर येशूले जे गर्नुभएको थियो त्यही अनुकरण गरेको मात्र हो।
खमिरदेखि होशियार बस भनेर उहाँले भन्नुभयो। चेलाहरूले खाने रोटी पो सम्झे। येशूले त फरिसीहरूको शिक्षा बारे भनिरहनुभएको थियो। यी मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खड़ा पर्छु भनेर जब येशूले भन्नुभयो त्यो ढुङ्गा मुढ़ाले बनिएको मन्दिरको कुरा गर्नुभएको थिएन। उहाँले आफ्नै शरीर जो परमेश्वरको असल मन्दिर हो अर्थमा भनिरहनुभएको थियो।
उहिलेको मण्डलीका धेरै सदस्यहरूले येशूसँग शरीरमै भेटेर परस्पर बात चित गरे। प्रभुको स्वर्गारोहण पछि, अघिका भएका विचारहरूलाई त्याग्नु कत्ति गाह्रो पर्यो होला।
शरीरमा येशू माथिबाट लिनलाई तल आउनुहुन्छ र सन्तगणलाई तलबाट भेट्नलाई माथि उठाइन्छन् भन्ने कुरा विश्वासले मात्र मानिलिन सक्छौँ। तर यसलाई जाँचेर हेरौँ, यो विश्वासै हो कि कुनै सिद्धान्त पालन गरेको मात्रै ?
जिउँदो विश्वास के हो त? आउँदा घटनाहरूको सूचि होइन, बाइबलबाट बोक्रेशिक्षा निकालेर त्यसैमा कट्टर हुनु पनि होइन। विश्वास भनेको त उहाँको वचन सुन्नु अनि त्यसैलाई पालन गर्नु हो।
एक किसिमको शिक्षालाई बलियो गरि समातेर बसेको साँचो विश्वास होइन। त्यसरी एउटै शिक्षामा अडियल बस्नु त केवल कुनै साम्प्रदायको सदस्य बनेको मात्र हो जसले अरू बेग्लै विचार भएका विश्वासीलाई विश्वासी नै गन्दैनन्।
धर्मशास्त्रको साँचो आत्मिक अर्थ बुझेर त्यसैको अनुसार चल्यौँ भने हाम्रो विश्वास र हाम्रो प्रभुसँगको हिँड़ाइ दरिलो हुनजान्छ।
एफिसी धर्मशास्त्रमा लेखिएको अनुग्रह हाम्रो जीवनमा परमप्रभुले पूरा गरून्। “तिमीहरूको हृदयका आँखा चहकिलो भएर उहाँको बोलावटको आशा के हो, र पवित्र जनहरूमा उहाँको अधिकारको महिमाको सम्पत्ति के हो भनेर तिमीहरूले जान्नसक र उहाँको बलको सामर्थ्यको कार्यअनुसार हामी विश्वास गर्नेहरूतर्फ उहाँको शक्तिको अत्यन्त महानता के हो” (१: १८, १९)।
No comments:
Post a Comment