हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


2 July 2014

बुबा, छोरा र पवित्र शक्तिबारे साँचो कुरा

बुबा, छोरा र पवित्र शक्तिबारे साँचो कुरा


त्रिएकको शिक्षामा विश्वास गर्नेहरू ‘पिता, पुत्र र पवित्र आत्मा एउटै हो’ भन्छन्‌। ती तीनै व्यक्ति बराबर अनि सर्वशक्तिमान्‌ छन्‌ र तीनै जनाको सुरुवात छैन भनी तिनीहरू भन्छन्‌। त्रिएकको शिक्षाअनुसार बुबा परमेश्वर हुनुहुन्छ, छोरा परमेश्वर हुनुहुन्छ र पवित्र आत्मा पनि परमेश्वर हुनुहुन्छ तर परमेश्वर तीन जना फरक-फरक व्यक्ति नभई एउटै हुनुहुन्छ।

त्रिएकको शिक्षामा विश्वास गर्नेहरू आफैले त्रिएकको शिक्षा बुझाउन सक्दैनन्‌। तैपनि यो बाइबलकै शिक्षा हो भनी तिनीहरू जिद्दी गर्छन्‌।  “त्रिएक” भन्ने शब्द बाइबलमा कतै पनि पाइँदैन। त्यसोभए के बाइबलमा त्रिएकलाई समर्थन गर्ने कुनै धारणा पाइन्छ त? यस प्रश्नको जवाफको लागि त्रिएकका समर्थकहरूले अक्सर प्रयोग गर्ने शास्त्रपद विचार गरौं।

“वचन परमेश्वरनै थियो”

यूहन्ना १:१ (RV) मा यसो भनिएको छ: “आदिमा वचन थियो, औ वचन परमेश्वरसँग थियो, औ वचन परमेश्वरनै थियो।” सोही अध्यायमा येशूका चेला यूहन्नाले “वचन” येशू हुनुहुन्छ भनी प्रस्टसँग बताएका छन्‌। (यूहन्ना १:१४) वचनलाई परमेश्वर भनिएकोले बुबा र छोरा एउटै हुनुपर्छ भनेर कोही-कोही भन्छन्‌।

बाइबलको यस भागलाई सुरुमा ग्रीक भाषामा लेखिएको थियो भनेर नबिर्सनुहोस्। पछि अनुवादकहरूले अरू भाषामा अनुवाद गरे। थुप्रै अनुवादकले “वचन परमेश्वरनै थियो” भनेर अनुवाद गरेनन्‌। किन? बाइबलमा प्रयोग गरिएको ग्रीक भाषाको ज्ञान भएकोले ती अनुवादकहरूले “वचन परमेश्वरनै थियो” भनेर अनुवाद गर्नु हुँदैन भन्ने निष्कर्ष निकाले। त्यसोभए कसरी अनुवाद गर्नुपर्थ्यो त? द ट्रान्सलेटर्स न्यु टेस्टामेन्ट-ले यस पदलाई यसरी अनुवाद गरेको छ: “वचन परमेश्वरसित हुनुहुन्थ्यो र उहाँजस्तै हुनुहुन्थ्यो।” यस अनुवादअनुसार वचन सर्वशक्तिमान्‌ परमेश्वर हुनुहुन्न। * बरु यहोवाले गर्नुभएको सृष्टिमध्ये वचनको स्थान उच्च भएकोले वचन ‘परमेश्वरजस्तै हुनुहुन्थ्यो।’

थप जानकारी

धेरैजसो मानिसलाई ग्रीक भाषाको ज्ञान छैन। त्यसोभए यूहन्नाले वास्तवमा के भन्न खोजेका हुन्‌, कसरी थाह लगाउने? यो उदाहरण विचार गर्नुहोस्: शिक्षकले विद्यार्थीहरूलाई एउटा विषयबारे कुरा गर्छन्‌। तर विद्यार्थीहरूले त्यसलाई भिन्ना-भिन्नै तरिकामा बुझ्छन्‌। सबैको बुझाइ एउटै बनाउन के गर्नुपर्छ? विद्यार्थीहरूले शिक्षकसित थप जानकारी माग्नुपर्छ। त्यसले तिनीहरूलाई उक्त विषय अझ राम्ररी बुझ्न मदत गर्नेछ। त्यसैगरि यूहन्ना १:१  को अर्थ बुझ्न तपाईंले यूहन्नाले लेखेको सुसमाचारको किताबका अरू पद पनि हेर्नुपर्छ। अरू पद पढेर येशूको स्थानबारे साँचो कुरा थाह पाएपछि तपाईं सही निष्कर्षमा पुग्नुहुनेछ।

उदाहरणको लागि, यूहन्ना अध्याय १ को पद १८ मा (RV) के लेखिएको छ, विचार गर्नुहोस्: “परमेश्वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।” तर मानिसहरूले छोरा अर्थात्‌ येशूलाई देखेका थिए किनभने सोही बाइबलमा यस्तो लेखिएको छ: ‘वचन देह हुनआयो र हाम्रा बीचमा बास गऱ्यो र हामीले उहाँको महिमा देख्यौं।’ (यूहन्ना १:१४) त्यसोभए छोरा कसरी सर्वशक्तिमान्‌ परमेश्वर हुन सक्छ र? वचन “परमेश्वरसँग थियो” भनेर पनि यूहन्ना बताउँछन्‌। यदि कुनै व्यक्ति अर्को व्यक्तिसँग छ भने कसरी ती दुवै एउटै हुन सक्छ र? यूहन्ना १७:३ मा येशूले आफू र स्वर्गमा बस्नुहुने आफ्नो बुबाबीचको भिन्नता प्रस्ट पार्नुभएको छ। उहाँले आफ्नो बुबालाई “एकमात्र सत्य परमेश्वर” भन्नुभयो। यूहन्नाले आफ्नो किताबको अन्ततिर सारांशमा यसो भने: “यी लेखिएका छन्‌, कि तिमीहरूले येशू परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्न सक।” (यूहन्ना २०:३१) याद गर्नुहोस्, येशूलाई यहाँ परमेश्वर होइन, परमेश्वरको छोरा भनिएको छ। यी जानकारीले यूहन्ना १:१ बुझ्न मदत गर्छ। येशू अर्थात्‌ वचन “परमेश्वरनै” थियो भन्नुको मतलब उहाँ सर्वशक्तिमान्‌ परमेश्वर बराबर हुनुहुन्छ भनेको होइन बरु उहाँको स्थान उच्च छ भनेको हो।

तथ्य कुरा के हो, पक्का गर्नुहोस्

शिक्षक र विद्यार्थीको उदाहरणलाई फेरि विचार गर्नुहोस्। मानिलिनुहोस्, शिक्षकले थप जानकारी दिएपछि पनि कुनै-कुनै विद्यार्थीलाई अझै चित्त बुझेन। त्यतिखेर तिनीहरूले के गर्नुपर्छ? तिनीहरूले अर्को शिक्षकको मदत लिनुपर्छ। अर्को शिक्षकले पनि पहिलाको शिक्षकले भनेको कुरालाई समर्थन गऱ्यो भने विद्यार्थीहरूले शङ्का गर्ने ठाउँ हुँदैन। त्यसैगरि यूहन्नाले येशू र सर्वशक्तिमान्‌ परमेश्वरबीचको सम्बन्धबारे भनेको कुरा बुझ्नुभएन भने तपाईंले बाइबलको अर्को लेखकको मदत लिनुपर्छ। जस्तै, अर्को लेखक मत्तीले के लेखेका छन्‌, विचार गर्नुहोस्। वर्तमान युगको अन्तबारे येशूले भन्नुभएको कुरा तिनले यसरी लेखे: “त्यस दिन र समयको विषयमा कसैले  जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र।” (मत्ती २४:३६) येशू र सर्वशक्तिमान्‌ परमेश्वर एउटै होइन भनेर यस पदले कसरी प्रमाणित गर्छ?

येशूले आफूलाई भन्दा बुबालाई धेरै थाह छ भन्नुभयो। येशू पनि सर्वशक्तिमान्‌ परमेश्वर नै हुनुभएको भए बुबालाई जति कुरा थाह छ, उहाँलाई पनि त्यति नै थाह हुने थियो। त्यसैले छोरा र बुबा बराबर हुन सक्दैन। तैपनि कसै-कसैले यसो भन्छन्‌: ‘येशू पृथ्वीमा मानिसको रूपमा हुनुभएकोले उहाँले आफूलाई भन्दा बुबालाई धेरै थाह छ भन्नुभएको हो।’ यदि यो कुरा साँचो हो भने पवित्र शक्तिबारे चाहिं के भन्न सकिन्छ? यदि पवित्र शक्ति र बुबा पनि एउटै हो भने बुबालाई जे थाह छ, पवित्र शक्तिलाई पनि थाह छ भनी येशूले किन भन्नुभएन?

बाइबल अध्ययन गर्दै जाँदा तपाईंले अझ धेरै कुरा सिक्नुहुनेछ अनि बुबा, छोरा र पवित्र शक्ति एउटै होइन भनेर राम्ररी बुझ्नुहुनेछ।—भजन ९०:२; प्रेषित ७:५५; कलस्सी १:१५.

इशक तामांग 
किम्तंग २ नुवाकोट नेपल 

शत्रुको सुरुवात

शत्रुको सुरुवात


४, ५. (क) हव्वासित कुरा गर्ने वास्तवमा को थियो? (ख) नैतिकवान्‌ र इमानदार व्यक्ति कसरी चोर बन्न सक्छ?

४ बाइबलको पहिलो किताबमा एउटा साँपबारे बताइएको छ। त्यसले अदनको बगैंचामा हव्वालाई परमेश्वरबारे गलत कुरा भन्यो। तर वास्तवमा त्यस साँपको पछाडि बसेर बोल्ने अरू नै कोही थियो। बाइबलको अन्तिम किताबमा त्यस साँपलाई ‘सारा संसारलाई ठग्ने दियाबल अनि सैतान’ भनिएको छ। त्यसलाई “पुरानो सर्प” पनि भनिएको छ। (उत्पत्ति ३:१; प्रकाश १२:९) वास्तवमा यही शक्तिशाली स्वर्गदूतले नै हव्वासित कुरा गरेको थियो। चटकेले कठपुतलीले बोलेजस्तै गरी आवाज निकाल्छ। त्यस्तै गरी त्यस स्वर्गदूतले पनि हव्वासित कुरा गर्न सर्पलाई चलायो। त्यस स्वर्गदूतले परमेश्वरले पृथ्वी सृष्टि गर्नुभएको पनि पक्कै देखेको थियो।—अय्यूब ३८:४, ७.

५ यहोवाको सृष्टिमा कुनै खोट थिएन। त्यसोभए “सैतान” कहाँबाट  आयो त? सरल शब्दमा भन्ने हो भने परमेश्वरका शक्तिशाली स्वर्गदूतहरूमध्ये एकले आफूलाई सैतान बनायो। कसरी? उदाहरणको लागि, अहिले नैतिकवान्‌ र इमानदार भनेर नाम चलेको व्यक्ति भोलि चोर बन्न सक्छ। कसरी त्यस्तो हुन्छ? मनमा कुइच्छा खेलाएर। त्यस्तो कुइच्छा मनमा खेलाइरह्यो भने चोर्ने इच्छा झन्‌झन्‌ प्रबल हुँदै जान्छ। अन्तमा मौका पाउनेबित्तिकै उसले चोरिहाल्छ।—याकूब १:१३-१५.

६. शक्तिशाली स्वर्गदूत कसरी सैतान बन्यो?

६ सैतानको सन्दर्भमा पनि यस्तै भयो। परमेश्वरले आदम र हव्वालाई सन्तान जन्माएर पृथ्वी भर्दै जाओ भन्नुभएको थियो। (उत्पत्ति १:२७, २८) यो आज्ञा सैतानले सुनेको हुनुपर्छ। त्यसपछि सैतानले यस्तो कुइच्छा मनमा खेलायो होला: ‘मानिसहरूले परमेश्वरको सट्टा मेरो उपासना गरे कत्ति बेस हुन्थ्यो!’ त्यसको मनमा यो कुइच्छा झन्‌झन्‌ प्रबल हुँदै गयो। अन्तमा त्यसले हव्वालाई बहकाउन परमेश्वरको विषयमा झूट बोल्यो। (उत्पत्ति ३:१-५) यसरी त्यो “सैतान” बन्यो, जसको अर्थ “विरोधी” हो। अनि त्यो “दियाबल” पनि भयो, जसको अर्थ “निन्दक” हो।

७. (क) आदम र हव्वा किन मरे? (ख) आदमका सबै सन्तान किन बूढाबूढी हुन्छन्‌ र मर्छन्‌?

७ झूट र छलको सहारा लिएर सैतानले आदम र हव्वालाई परमेश्वरको आज्ञा उल्लङ्घन गर्न लगायो। (उत्पत्ति २:१७; ३:६) उहाँको आज्ञा पालन नगरेमा तिनीहरू मर्नेछन्‌ भनी परमेश्वरले पहिल्यै भन्नुभएको थियो। हुन पनि त्यस्तै भयो। यहोवाको आज्ञा उल्लङ्घन गरेर तिनीहरूले पाप गरे र उहाँको नजरमा त्रुटिपूर्ण भए। फलस्वरूप तिनका सबै सन्तान पनि जन्मजात पापी भए। (रोमी ५:१२) यसलाई बुझ्न रोटी पकाउने तावालाई उदाहरणको रूपमा लिनुहोस्। तावामा खोपिल्टा छ भने त्यसमा पकाएको सबै रोटीमा के हुन्छ? सबै रोटीमा दाग हुन्छ। त्यसैगरि आदम त्रुटिपूर्ण भएको हुनाले तिनका सबै सन्तान पनि त्रुटिपूर्ण भए। त्यसैकारण सबै बूढाबूढी हुन्छन्‌ र मर्छन्‌।—रोमी ३:२३.

८, ९. (क) सैतानले कस्तो चुनौती दियो? (ख) परमेश्वरले विद्रोहीहरूलाई किन उतिखेरै नाश गर्नुभएन?

 ८ सैतानले आदम र हव्वालाई परमेश्वरविरुद्ध पाप गर्न उक्साएर विद्रोहको बीउ रोप्यो। त्यसले यहोवाको शासन गर्ने तरिकालाई चुनौती दियो। वास्तवमा सैतानले यसो भनिरहेको थियो: ‘परमेश्वर असल शासक हुनुहुन्न। उहाँ झूट बोल्नुहुन्छ र आफ्नो प्रजाले असल कुरा  पाएको चाहनुहुन्न।’ त्यसले यसो पनि भन्न खोज्दै थियो: ‘मानिसलाई परमेश्वरको शासन चाहिंदैन। तिनीहरू आफै असल र खराब छुट्टयाउन सक्छन्‌। परमेश्वरको भन्दा मेरो शासन राम्रो छ।’ त्यस्तो अपमानजनक चुनौतीको परमेश्वरले कसरी जवाफ दिनुहुने थियो? परमेश्वरले ती विद्रोहीहरूलाई उतिखेरै खतम गर्नुपर्थ्यो भनी कसै-कसैले भन्छन्‌। तर त्यसो गर्दा सैतानको चुनौतीको जवाफ मिल्ने थियो र? के त्यसले परमेश्वरको शासन गर्ने तरिका ठीक छ भनेर प्रमाणित गर्ने थियो र?

९ उहाँ न्यायी परमेश्वर हुनुभएकोले विद्रोहीहरूलाई उतिखेरै नाश गर्न मिल्दैनथ्यो। त्यसैले सैतानको चुनौतीको चित्तबुझ्दो जवाफ दिन र त्यसलाई झूटो प्रमाणित गर्न समय चाहिन्थ्यो। त्यसैले मानिसजाति सैतानकै अधीनमा बसून्‌ र त्यसकै इशारामा केही समय शासन गरून्‌ भनेर यहोवाले तिनीहरूलाई स्वतन्त्र छोडिदिनुभयो। यहोवाले किन त्यसो गर्नुभयो र यो विवाद सुल्झाउन किन यति धेरै समय लगाउनुभयो, हामी अध्याय ११ मा छलफल गर्नेछौं। तर अहिले यी प्रश्न विचार गर्नुहोस्: आफ्नो लागि कहिल्यै केही असल काम नगरिदिने सैतानको कुरा के आदम र हव्वाले पत्याउनुहुन्थ्यो? सबै थोक दिने यहोवा निर्दयी अनि फटाहा हुनुहुन्छ भनी के तिनीहरूले पत्याउनुहुन्थ्यो र? तपाईं भए के गर्नुहुन्थ्यो?

१०. तपाईंले कसरी सैतानको चुनौतीको जवाफ दिन सक्नुहुन्छ?

१० हामीले यी प्रश्न विचार गर्नुपर्छ किनभने हामी सबै जना त्यही विवादमा मुछिएका छौं। तपाईंले यहोवाको पक्ष लिएर सैतानको चुनौतीको जवाफ दिने मौका पाउनुभएको छ। यहोवालाई आफ्नो शासक स्वीकारेर तपाईंले सैतानलाई झूटो प्रमाणित गर्न सक्नुहुन्छ। (भजन ७३:२८; हितोपदेश २७:११) तर दुःखको कुरा, थोरैले मात्र यसो गरेका छन्‌। यसको मतलब सैतानले साँच्चै नै यस संसारमा शासन गरिरहेको छ। तर वास्तवमा बाइबलले के सिकाउँछ?

 संसारको शासक को हो?
येशूतिर हात पसार्दै सैतानले संसारको सबै सरकार र राज्यहरू उहाँलाई दिने प्रस्ताव राख्छ
संसारको सबै राज्य आफ्नो नभएको भए सैतानले येशूलाई ती राज्य दिन्छु भन्न सक्थ्यो र?

११, १२. (क) सैतानले येशूलाई भनेको कुराबाट त्यो नै यस संसारको शासक हो भनी कसरी प्रस्ट हुन्छ? (ख) सैतान नै यस संसारको शासक हो भनी अरू कुन कुराले प्रमाणित गर्छ?

११ यस संसारको शासक सैतान हो भनेर येशूलाई राम्ररी थाह थियो। सैतानले एक चोटि चमत्कारपूर्ण ढङ्गमा येशूलाई “संसारका सबै राज्य र त्यसको गौरव” देखायो। त्यसपछि त्यसले यस्तो प्रतिज्ञा गऱ्यो: “यदि तपाईंले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक म तपाईंलाई दिनेछु।” (मत्ती ४:८, ९; लूका ४:५, ६) सोच्नुहोस् त, ती सबै राज्य आफ्नो नभएको भए के त्यसले येशूलाई त्यसरी लोभ देखाउन सक्थ्यो र? सबै राज्य सैतानकै हो भनेर येशूले नकार्नुभएन। नत्र त येशूले पक्कै खण्डन गर्नुहुने थियो।

१२ यहोवा सर्वशक्तिमान्‌ परमेश्वर र विशाल ब्रह्माण्डको सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा शङ्का छैन। (प्रकाश ४:११) तर बाइबलमा कतै पनि यहोवा परमेश्वर वा येशू ख्रीष्ट यस संसारको शासक हुनुहुन्छ भनी उल्लेख गरिएको छैन। वास्तवमा सैतान “यस संसारको शासक” हो भनेर येशूले स्पष्ट पार्नुभयो। (यूहन्ना १२:३१; १४:३०; १६:११) बाइबलले सैतानलाई “यस युगको ईश्वर” पनि भनेको छ। (२ कोरिन्थी ४:३, ४) त्यो विरोधी सैतानबारे येशूका चेला यूहन्नाले लेखे: “सारा संसार त्यस दुष्टको हातमा परेको छ।”—१ यूहन्ना ५:१९.

सैतानको शासन कसरी हटाइनेछ?
१३. अहिलेको संसारलाई किन हटाउनुपर्छ?

१३ संसार झन्‌झन्‌ खतरनाक हुँदै गइरहेको छ। संसार युद्ध, बेइमान राजनीतिज्ञ, कपटी धर्मगुरु र निष्ठुर अपराधीहरूले भरिएको छ। संसार सुधार्नै नसकिने गरी बिग्रिसकेको छ। त्यसैले यहोवाले यस दुष्ट संसारलाई चाँडै आरमागेडोनको युद्धमा नाश गर्नुहुनेछ। त्यसपछि नयाँ संसारको सुरुवात हुनेछ, जहाँ कुनै किसिमको अन्याय हुनेछैन।—प्रकाश १६:१४-१६.

१४. परमेश्वरले कसलाई आफ्नो सरकारको शासक नियुक्त गर्नुभएको छ? ती शासकबारे कस्तो भविष्यवाणी गरिएको थियो?

 १४ यहोवा परमेश्वरले येशू ख्रीष्टलाई स्वर्गमा स्थापित सरकारको शासक नियुक्त गर्नुभयो। धेरैअघि बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: “हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको हातमा हुनेछ। उहाँको नाउँ . . . शान्तिका राजकुमार कहलाइनेछ। उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन।” (यशैया ९:६, ७) येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।” (मत्ती ६:१०) परमेश्वरको राज्यले अब चाँडै संसारका सबै सरकार हटाएर आफ्नो शासन सुरु गर्नेछ भनी हामी यस किताबमा पछि अध्ययन गर्नेछौं। (दानियल २:४४) त्यसपछि परमेश्वरको राज्यले पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउनेछ।

नयाँ संसार नजिकै छ!
नयाँ संसारमा मानिसहरू गाउँदै, बाजागाजा बजाउँदै अनि रमाइलो गर्दै छन्‌
१५. “नयाँ पृथ्वी” भनेको के हो?

१५ बाइबल हामीलाई यस्तो आशा दिन्छ: “हामी परमेश्वरको प्रतिज्ञाबमोजिम नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दैछौं, जसमा न्यायले बास गर्छ।” (२ पत्रुस ३:१३; यशैया ६५:१७) बाइबलमा “पृथ्वी” शब्दले कहिलेकाहीं मानिसहरूलाई बुझाउँछ। (उत्पत्ति ११:१) त्यसैले न्यायले बास गर्ने “नयाँ पृथ्वी” भनेको परमेश्वरको स्तरबमोजिम चल्ने मानिसहरू मिलेर बनेको समाज हो।

१६. परमेश्वरले हामीलाई कस्तो जीवन दिनुहुनेछ र त्यो पाउन हामीले के गर्नुपर्छ?

१६ परमेश्वरको स्तरबमोजिम चल्ने मानिसहरूले नयाँ पृथ्वीमा “अनन्त जीवन” पाउनेछन्‌ भनी येशूले प्रतिज्ञा गर्नुभयो। (मर्कूस १०:३०) कृपया आफ्नो बाइबल पल्टाएर यूहन्ना ३:१६ र १७:३ हेर्नुहोस् र अनन्त जीवन पाउन हामीले के गर्नुपर्छ, थाह पाउनुहोस्। परमेश्वरले पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउनुहुनेछ र हामीलाई अनन्त जीवन दिनुहुनेछ। त्यतिखेर कस्ता आशिष्‌हरू पाउनेछौं, बाइबलबाटै विचार गरौं।

१७, १८. पृथ्वीमा शान्ति र सुरक्षा छाउनेछ भनी कसरी पक्का हुन सक्छौं?

 १७ दुष्टता, युद्ध, अपराध र हिंसा हुनेछैन। “दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌।” (भजन ३७:१०, ११) ‘पृथ्वीको अन्तसम्मै परमेश्वरले युद्धहरू रोक्नुहुने’ भएकोले शान्ति छाउनेछ। (भजन ४६:९; यशैया २:४) त्यसपछि “धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ।” यसको अर्थ कहिल्यै अशान्ति हुनेछैन!—भजन ७२:७.

१८ यहोवाका उपासकहरूले सुरक्षित जीवन बिताउनेछन्‌। प्राचीन समयका इस्राएलीहरूले परमेश्वरको आज्ञा पालन गर्दा उहाँको सुरक्षा पाए। (लेवी २५:१८, १९) पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाइएपछि त्यस्तै सुरक्षा पाउनेछौं!—यशैया ३२:१८; मीका ४:४.

१९. नयाँ पृथ्वीमा अनिकाल हुनेछैन भनेर किन भन्न सक्छौं?

१९ अनिकाल हुनेछैन। भजनरचयिताले यस्तो भजन गाए: “पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्त गरी अन्न हुनेछ।” (भजन ७२:१६) यहोवा परमेश्वरले आफ्ना जनलाई आशिष्‌ दिनुहुनेछ र ‘पृथ्वीले आफ्नो उब्जनी बढाउनेछ।’—भजन ६७:६.

२०. पूरै पृथ्वी सुन्दर बगैंचा बनाइनेछ भनी किन पक्का हुन सक्छौं?

२० पूरै पृथ्वी सुन्दर बगैंचा बनाइनेछ। अहिले खराब मानिसहरूले पृथ्वीलाई बिगारेका छन्‌। तर नयाँ संसारमा मानिसहरूले नयाँ-नयाँ सुन्दर घर र बगैंचाहरू बनाउनेछन्‌। (यशैया ६५:२१-२४; प्रकाश ११:१८) समय बित्दै जाँदा पूरै पृथ्वी अदनको बगैंचाजस्तै सुन्दर र हराभरा हुनेछ। अनि परमेश्वरले ‘आफ्नो मुठी खोल्नुहुनेछ र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुनेछ।’—भजन १४५:१६.

२१. मानिस र पशु मिलेर बस्नेछन्‌ भनी कुन कुराले देखाउँछ?

२१ मानिस र पशु मिलेर बस्नेछन्‌। जङ्गली जनावर र पाल्तुपशुहरू एकैसाथ चर्नेछन्‌। हिंस्रक जनावरहरू देखेर सानो बच्चासमेत डराउनुपर्नेछैन।—यशैया ११:६-९; ६५:२५.

२२. रोगबिमार के हुनेछ?

 २२ रोगबिमार हुनेछैन। पृथ्वीमा छँदा येशूले थुप्रै बिरामीलाई निको पार्नुभयो। (मत्ती ९:३५; मर्कूस १:४०-४२; यूहन्ना ५:५-९) परमेश्वरको राज्यको शासकको रूपमा उहाँले अझ व्यापक तवरमा निको पार्नुहुनेछ। नयाँ संसारका “बासिन्दाहरूले यसो भन्नेछैनन्‌, ‘म बिरामी परें।’”—यशैया ३३:२४; ३५:५, ६.

२३. मरिसकेका प्रियजन के हुनेछन्‌?

२३ मरिसकेका प्रियजन ब्यूँताइनेछन्‌। मृत्युको चिरनिद्रामा परेकाहरू जो परमेश्वरको सम्झनामा छन्‌, तिनीहरूलाई ब्यूँताइनेछ। “परमेश्वरको स्तरबमोजिम ज-जसले असल काम गरे अनि ज-जसले गरेनन्‌, तिनीहरू दुवै पुनर्जीवित हुनेछन्‌।”—प्रेषित २४:१५; यूहन्ना ५:२८, २९.

२४. प्रमोदवनमा जीवन बिताउने कुरा तपाईंलाई कस्तो लाग्यो?

२४ हाम्रा महान्‌ सृष्टिकर्ता यहोवा परमेश्वरबारे सिक्न र उहाँको सेवा गर्न चाहनेहरूसामु कस्तो उज्ज्वल भविष्य! येशूले आफ्नो मृत्यु हुनुअघि छेवैमा टाँगिएको अपराधीलाई प्रमोदवन अर्थात्‌ सुन्दर बगैंचाबारे यस्तो प्रतिज्ञा गर्नुभयो: “तिमी मसित प्रमोदवनमा हुनेछौ।” (लूका २३:४३) हामीले येशू ख्रीष्टबारे अझ धेरै कुरा सिक्नुपर्छ किनभने भर्खरै पढेको सबै आशिष्‌ उहाँद्वारै पाउनेछौं।




बाइबलले के सिकाउँछ?

27 June 2014

किन प्रार्थना गर्नुपर्छ?


किन प्रार्थना गर्नुपर्छ?



यहोवा परमेश्वर हामीले आफ्नो चिन्ताबारे धक नमानी उहाँसित कुराकानी गरेको चाहनुहुन्छ। (लूका १८:१-७) उहाँ हाम्रो चासो राख्नुहुन्छ, त्यसैले हाम्रो प्रार्थना सुन्नुहुन्छ। स्वर्गमा बस्नुहुने हाम्रो बुबाले प्रार्थना गर्न मायालुपूर्वक निम्तो दिनुभएको छ। उहाँको यो निम्तो खुसीसाथ स्वीकारे कसो होला?—फिलिप्पी ४:६ पढ्नुहोस्।

प्रार्थना गर्नु भनेको मदतको लागि बिन्ती गर्नु मात्र होइन। बरु प्रार्थनाले हामीलाई परमेश्वरको नजिक हुन मदत गर्छ। (भजन ८:३, ४) हामीले नियमित रूपमा आफ्नो भावना परमेश्वरलाई पोखायौं भने उहाँ हाम्रो घनिष्ठ साथी बन्नुहुनेछ।—याकूब ४:८ पढ्नुहोस्।

प्रार्थना कसरी गर्नुपर्छ?
प्रार्थना गर्दा हामीले बनावटी शब्दहरू प्रयोग गरेको वा कण्ठ गरेको प्रार्थना दोहोऱ्याएको परमेश्वर चाहनुहुन्न। हामीले कुनै विशेष आसन धारण गर्नु पनि आवश्यक छैन। यहोवा परमेश्वरले हामीलाई मनैदेखि प्रार्थना गर्न आग्रह गर्नुभएको छ। (मत्ती ६:७) उदाहरणको लागि पुरातन इस्राएलमा हन्ना नामकी स्त्रीले आफ्नो पारिवारिक समस्याबारे प्रार्थना गरेकी थिइन्‌। पछि तिनको पीडा खुसीमा परिणत हुँदा तिनले मनैदेखि प्रार्थना गरेर परमेश्वरलाई धन्यवाद दिइन्‌।—१ शमूएल १:१०, १२, १३, २६, २७; २:१ पढ्नुहोस्।

हामीले साँच्चै ठूलो सुअवसर पाएका छौं। हामी सृष्टिकर्तालाई आफ्नो मनको पीडा पोखाउन सक्छौं। उहाँको प्रशंसा गर्न अनि उहाँले गर्नु भएका कामहरूका लागि धन्यवाद दिन सक्छौं। आफूले पाएको यस्तो बहुमूल्य सुअवसरलाई बेवास्ता नगरौं।—भजन १४५:१४-१६ पढ्नुहोस्।





प्रार्थना गरेर परमेश्वरसित नजिक हुनुहोस्

परमेश्वरलाई किन प्रार्थना गर्नुपर्छ?
परमेश्वरले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने के गर्नुपर्छ?
परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?
ताराहरूले भरिएको आकासमुनि बसेर प्रार्थना गर्दै एक स्त्री
‘स्वर्ग र पृथ्वी बनाउनुहुने’ परमेश्वर हाम्रो प्रार्थना सुन्न इच्छुक हुनुहुन्छ

१, २. प्रार्थना गर्न पाउनु किन ठूलो सम्मान हो? प्रार्थनाबारे बाइबलले बताउने कुरा किन थाह पाउनुपर्छ?

विशाल ब्रह्माण्डको तुलनामा पृथ्वी असाध्यै सानो छ। ‘स्वर्ग र पृथ्वी बनाउनुहुने’ यहोवाको नजरमा मानिसहरू गाग्रोबाट चुहेको एक थोपा पानीजस्तो मात्र हुन्‌। (भजन ११५:१५; यशैया ४०:१५) तैपनि बाइबल यसो भन्छ: “उहाँमा पुकारा गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकार्ने सबैका नजिक। उहाँसित डराउनेहरूको इच्छा उहाँले पूरा गर्नुहुनेछ। उहाँले तिनीहरूको पुकारा पनि सुन्नुहुनेछ।” (भजन १४५:१८, १९) सोच्नुहोस् त, सर्वशक्तिमान्‌ सृष्टिकर्तालाई साँचो मनले पुकाऱ्यौं भने उहाँ हाम्रो नजिक हुनुहुनेछ र उहाँले हाम्रो पुकारा सुन्नुहुनेछ। त्यसैले यहोवालाई प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान हो।

२ यहोवाले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने उहाँले चाहनुहुने तरिकामा प्रार्थना गर्नुपर्छ। प्रार्थनाबारे बाइबलले के बताउँछ भनेर बुझेका छैनौं भने परमेश्वरले चाहनुहुने तरिकामा कसरी प्रार्थना गर्न सक्छौं र? यस विषयमा बाइबलले के भन्छ भनी थाह पाउनु अत्यावश्यक छ किनभने प्रार्थनाले हामीलाई यहोवासित नजिक हुन मदत गर्छ।

यहोवालाई किन प्रार्थना गर्नुपर्छ?
३. यहोवालाई प्रार्थना गर्नुपर्ने एउटा मुख्य कारण के हो?

३ एउटा मुख्य कारण हो, यहोवा हामीलाई प्रार्थना गर्न आग्रह गर्नुहुन्छ।  उहाँको वचनले हामीलाई यस्तो प्रोत्साहन दिन्छ: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्वरसमक्ष जाहेर गर। अनि परमेश्वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले ख्रीष्ट येशूद्वारा तिमीहरूको मन र सोच्ने क्षमताको रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) ब्रह्माण्डको सर्वोच्च शासकले गर्नुभएको यस्तो दयालु प्रबन्धलाई हामी हल्कासित लिन चाहँदैनौं!

४. नियमित रूपमा प्रार्थना गर्दा यहोवासितको हाम्रो सम्बन्ध कसरी अझ बलियो हुन्छ?

४ प्रार्थना गर्नुपर्ने अर्को कारण हो, नियमित रूपमा प्रार्थना गर्दा यहोवासितको हाम्रो सम्बन्ध बलियो हुन्छ। साँचो मित्रहरू एकअर्कासित सधैं कुरा गर्छन्‌, केही कुराको खाँचो परेको बेला मात्र होइन। तिनीहरू एकअर्काको चासो राख्छन्‌। आफ्ना विचार, चिन्ता तथा भावना नलुकाई व्यक्त गर्छन्‌, जसले गर्दा तिनीहरूको मित्रता बलियो हुन्छ। यहोवा परमेश्वरसितको हाम्रो सम्बन्ध पनि यस्तै हो। तपाईंले यहोवा, उहाँको व्यक्तित्व र उहाँका उद्देश्यहरूबारे बाइबलबाट धेरै कुरा सिकिसक्नुभयो। उहाँलाई राम्ररी चिन्नुभयो। त्यसैले स्वर्गमा बस्नुहुने बुबालाई प्रार्थना गरेर तपाईं आफ्नो विचार  तथा भित्री भावना पोखाउन सक्नुहुन्छ। यसो गर्दा तपाईं यहोवासित अझ नजिक हुनुहुनेछ।—याकूब ४:८.

हामीले के गर्नुपर्छ?
५. यहोवाले सबै प्रार्थना किन सुन्नुहुन्न?

५ के यहोवाले सबैको प्रार्थना सुन्नुहुन्छ? यशैयाको समयका विद्रोही इस्राएलीहरूलाई उहाँले के भन्नुभयो, विचार गर्नुहोस्: “तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌।” (यशैया १:१५) परमेश्वरलाई मन नपर्ने काम गरिरहेका छौं भने उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्न। यसकारण परमेश्वरले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने हामीले आफ्नोतर्फबाट पनि केही गर्नुपर्छ।

६. परमेश्वरले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने हामीसित के हुनै पर्छ? यो हामी कसरी देखाउन सक्छौं?

६ हामीसित हुनै पर्ने एउटा कुरा विश्वास हो। (मर्कूस ११:२४) प्रेषित पावलले यस्तो लेखे: “विनाविश्वास [परमेश्वरलाई] खुसी पार्न असम्भव छ किनभने जो परमेश्वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।” (हिब्रू ११:६) साँचो विश्वास भनेको परमेश्वर हुनुहुन्छ अनि उहाँले प्रार्थना सुनेर त्यसको जवाफ दिनुहुन्छ भनेर बुझ्नु मात्र होइन। साँचो विश्वास कामबाट देखिन्छ। हामीसित विश्वास छ भने त्यो हाम्रो दैनिक कामकुरामा देखिनुपर्छ।—याकूब २:२६.

७. (क) यहोवालाई प्रार्थना गर्दा हामीले किन आदर देखाउनुपर्छ? (ख) परमेश्वरलाई प्रार्थना गर्दा हामी कसरी नम्रता र निष्कपटता देखाउन सक्छौं?

७ हामीले नम्र अनि निष्कपट भई प्रार्थना गरेको यहोवा चाहनुहुन्छ। यहोवासित कुरा गर्दा हामी नम्र हुनुपर्छ। राजा वा प्रधानमन्त्रीसित कुरा गर्ने मौका पाउँदा मानिसहरू अक्सर तिनीहरूको उच्च ओहदाको ख्याल राख्दै आदरपूर्वक कुरा गर्छन्‌। त्यसैले यहोवासित कुरा गर्दा हामीले धेरै आदर देखाउनुपर्छ। (भजन १३८:६) उहाँ “सर्वशक्तिमान्‌ परमेश्वर” हुनुहुन्छ। (उत्पत्ति १७:१) परमेश्वर हामीभन्दा महान्‌ हुनुहुन्छ भनी स्वीकारेको हाम्रो प्रार्थना गर्ने तरिकामा झल्किनुपर्छ। त्यस्तो नम्रताले हामीलाई  निष्कपट मनले प्रार्थना गर्न उत्प्रेरित गर्नेछ अनि हाम्रो प्रार्थना एकोहोरो र निरस पनि हुँदैन।—मत्ती ६:७, ८.

८. हामी कसरी प्रार्थनाअनुसार काम गर्न सक्छौं?

८ परमेश्वरले प्रार्थना सुनेको चाहन्छौं भने प्रार्थनाअनुरूप काम पनि गर्नुपर्छ। प्रार्थनामा हामी जे माग्छौं, त्यसको लागि हामीले आफ्नोतर्फबाट सक्दो प्रयास गरेको यहोवा चाहनुहुन्छ। उदाहरणका लागि, “हामीलाई आज दिनभरिको भोजन दिनुहोस्” भनेर प्रार्थना गर्छौं भने आफ्नो काम सानो-ठूलो जस्तोसुकै भए तापनि कडा मेहनत गर्नुपर्छ। (मत्ती ६:११; २ थिस्सलोनिकी ३:१०) आफ्ना कमीकमजोरीमाथि विजय हासिल गर्न सकूँ भनेर प्रार्थना गर्दै छौं भने गलत काममा फस्न सक्ने अवस्थादेखि टाढै बस्नुपर्छ। (कलस्सी ३:५) यीबाहेक प्रार्थनासम्बन्धी केही प्रश्नको जवाफ पनि हामीलाई थाह हुनुपर्छ।

प्रार्थनासम्बन्धी केही प्रश्नको जवाफ
९. हामीले कसलाई प्रार्थना गर्नुपर्छ? हामीले कोमार्फत प्रार्थना गर्नुपर्छ?

९ हामीले कसलाई प्रार्थना गर्नुपर्छ? येशूले आफ्ना चेलाहरूलाई “स्वर्गमा बस्नुहुने हाम्रा बुबा”-लाई प्रार्थना गर्न सिकाउनुभयो। (मत्ती ६:९) त्यसैले हामीले यहोवा परमेश्वरलाई मात्र प्रार्थना गर्नुपर्छ। तर उहाँको एक मात्र प्यारो छोरा येशू ख्रीष्टको ओहदालाई पनि हामीले स्वीकारेको यहोवा चाहनुहुन्छ। येशूले फिरौतीस्वरूप दिनुभएको बलिदानले गर्दा हामीले पाप र मृत्युको बन्धनबाट छुटकारा पायौं भनेर अध्याय ५ मा सिकिसक्यौं। (यूहन्ना ३:१६; रोमी ५:१२) उहाँ हाम्रो प्रधान पुजारी र न्यायकर्ता हुनुहुन्छ। (यूहन्ना ५:२२; हिब्रू ६:२०) यसकारण बाइबलले येशूमार्फत प्रार्थना गर्ने निर्देशन दिन्छ। येशू आफैले यसो भन्नुभयो: “बाटो, सत्य र जीवन मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।” (यूहन्ना १४:६) यहोवाले उहाँको छोरा येशू ख्रीष्टमार्फत गरेको प्रार्थना मात्र सुन्नुहुन्छ।

१०. प्रार्थना गर्दा हामीले किन कुनै खास आसन धारण गर्नुपर्दैन?

१० के हामीले कुनै खास आसन धारण गरेर प्रार्थना गर्नुपर्छ? अहँ,  पर्दैन। प्रार्थना गर्दा हामीले आफ्नो हात कसरी राख्नुपर्छ अनि कस्तो आसन ग्रहण गर्नुपर्छ भनेर यहोवाले तोक्नुभएको छैन। विभिन्न आसनमा प्रार्थना गर्न सकिन्छ भनी बाइबल सिकाउँछ। जस्तै: बसेर, शिर निहुराएर, घुँडा टेकेर, उभिएर। (१ इतिहास १७:१६; नहेम्याह ८:६; दानियल ६:१०; मर्कूस ११:२५) परमेश्वरले हाम्रो आसन होइन तर हाम्रो मन हेर्नुहुन्छ। हरेक दिन विभिन्न काम गर्दा अथवा अचानक गाह्रोसाह्रो पर्दा हामी जहाँसुकै होऔं, मनमनै प्रार्थना गर्न सक्छौं। त्यतिखेर अरूले हाम्रो प्रार्थना नसुने तापनि यहोवाले पक्कै सुन्नुहुन्छ।—नहेम्याह २:१-६.

११. हामीले प्रार्थनामा कस्ता कुराहरू राख्न सक्छौं?

११ हामी कस्ता कुराको लागि प्रार्थना गर्न सक्छौं? बाइबल यसो भन्छ: “परमेश्वरको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ।” (१ यूहन्ना ५:१४) त्यसैले परमेश्वरको इच्छासित नबाझिने जुनसुकै कुराको लागि हामी प्रार्थना गर्न सक्छौं। आफूलाई चिन्ता लागिरहेको विषयमा हामीले प्रार्थना गरेको यहोवा चाहनुहुन्छ। यहोवालाई प्रार्थना गर्नु भनेको आफ्नो मिल्ने साथीसित कुरा गर्नुजस्तै हो। त्यसैले ‘आफ्नो हृदयको दुःख पोखाउँदै’ परमेश्वरसित खुलस्त कुरा गर्नुहोस्। (भजन ६२:८) परमेश्वरको पवित्र शक्तिले हामीलाई सही काम गर्न मदत गर्छ। त्यसैले हामीले प्रार्थना गरेर उहाँको पवित्र शक्ति माग्न सक्छौं। (लूका ११:१३) निर्णय गर्नुपर्दा अथवा समस्या आइपरेको बेला उहाँसित प्रार्थना गरेर बुद्धि अनि बल पनि माग्न सक्छौं। (याकूब १:५) हामी पापी छौं। त्यसैले ख्रीष्टको फिरौतीको बलिदानको आधारमा क्षमा दिनुहोस् भनेर हामीले प्रार्थना गर्नुपर्छ। (एफिसी १:३, ७) हामीले आफ्नो लागि मात्र प्रार्थना गर्नु हुँदैन, अरूको लागि पनि गर्नुपर्छ। हामीले परिवारका सदस्य अथवा यहोवाको उपासना गर्ने हामीजस्तै साथीभाइको निम्ति प्रार्थना गर्नुपर्छ।—प्रेषित १२:५; कलस्सी ४:१२.

१२. प्रार्थनामा हामी कसरी यहोवासित सम्बन्धित कुरालाई सबैभन्दा महत्त्वपूर्ण स्थान दिन सक्छौं?

१२ हामीले प्रार्थना गर्दा यहोवा परमेश्वरसित सम्बन्धित विषयहरूलाई  पहिलो स्थान दिनुपर्छ। प्रार्थना गर्दा उहाँले हामीलाई दिनुभएको सबै असल थोकको निम्ति उहाँको प्रशंसा गर्नु अनि धन्यवाद चढाउनु राम्रो कुरा हो। (१ इतिहास २९:१०-१३) येशूले मत्ती ६:९-१३ मा प्रार्थना कसरी गर्नुपर्छ भनेर आफ्ना चेलाहरूलाई सिकाउनुभयो। येशूले प्रार्थनाको सुरुमा परमेश्वरको नाम पवित्र पारियोस् भन्नुभयो। त्यसपछि परमेश्वरको राज्य आओस् र उहाँको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस् भन्नुभयो। यहोवासित सम्बन्धित यी महत्त्वपूर्ण विषयलाई प्रार्थनामा समावेश गरेपछि मात्र येशूले व्यक्तिगत कुरा उल्लेख गर्नुभयो। त्यसरी नै हामीले प्रार्थना गर्दा परमेश्वरलाई सबैभन्दा महत्त्वपूर्ण स्थान दिनुपर्छ। त्यसो गर्दा हामी आफ्नै कुरामा मात्र ध्यान दिंदैनौं भनेर देखाइरहेका हुनेछौं।

१३. हामीले कति लामो प्रार्थना गरेको परमेश्वर चाहनुहुन्छ?

१३ प्रार्थना कति लामो हुनुपर्छ? मनमनै प्रार्थना गर्दा अथवा अरू सबैले सुन्नेगरि प्रार्थना गर्दा त्यो कति लामो हुनुपर्छ भनी बाइबलले बताएको छैन। खाना खानुअघि गरिने प्रार्थना छोटो हुन्छ तर यहोवालाई आफ्नो मनको बह पोखाउँदा भने प्रार्थना लामो हुन सक्छ। (१ शमूएल १:१२, १५) अरूको सामु धर्मी देखिन धेरै लामो प्रार्थना गर्ने मानिसहरूको येशूले निन्दा गर्नुभयो। (लूका २०:४६, ४७) त्यस्तो प्रार्थना यहोवालाई मन पर्दैन। हामीले निष्कपट मनले प्रार्थना गरेको यहोवा चाहनुहुन्छ। त्यसकारण आवश्यकता र परिस्थितिअनुसार हाम्रो प्रार्थना लामो वा छोटो हुन सक्छ।

विभिन्न अवस्थामा प्रार्थना गर्दै मानिसहरू
तपाईंले जुनसुकै बेला गरेको प्रार्थना परमेश्वर सुन्नुहुन्छ

१४. “निरन्तर प्रार्थना गर” भन्नुको अर्थ के हो? कुन कुरा थाह पाउँदा हामी ढुक्क महसुस गर्छौं?

१४ हामीले कति चोटि प्रार्थना गर्नुपर्छ? बाइबलले हामीलाई “निरन्तर प्रार्थना गर” र “प्रार्थनामा लागिरहो” भनेर प्रोत्साहन दिन्छ। (मत्ती २६:४१; रोमी १२:१२; १ थिस्सलोनिकी ५:१७) तर यसको मतलब हामी चौबीसै घण्टा प्रार्थनामा डुबिरहनुपर्छ भन्ने होइन। बरु बाइबलले हामीलाई नियमित तवरले प्रार्थना गर्न आग्रह गर्छ। हामीले बारम्बार प्रार्थना  गरेर यहोवालाई धन्यवाद दिनुपर्छ अनि उहाँसित डोऱ्याइ, सान्त्वना र बल माग्नुपर्छ। हाम्रो प्रार्थना चाहे लामो होस् वा छोटो, यहोवाले सुन्नुहुन्छ अनि दिनभरि जतिचोटि प्रार्थना गरे तापनि उहाँले ध्यान दिनुहुन्छ। हामीले प्रार्थना गर्ने यति ठूलो सुअवसर पाएको हुनाले त्यसको कदर गर्नुपर्छ र यहोवालाई प्रार्थना गर्ने मौका खोजिरहनुपर्छ।

१५. हामीले मनमनै प्रार्थना गर्दा अथवा अरूले हाम्रो निम्ति प्रार्थना गरिदिंदा अन्तमा किन “आमिन” भन्नुपर्छ?

१५ प्रार्थनाको अन्तमा किन “आमिन” भन्नुपर्छ? “आमिन” शब्दको अर्थ “पक्कै पनि” अर्थात्‌ “यस्तै होस्” हो। हामीले मनमनै प्रार्थना गर्दा अथवा हाम्रो निम्ति अरू कसैले प्रार्थना गरिदिंदा अन्तमा “आमिन” भन्नु उपयुक्त छ भनी बाइबलमा पाइने उदाहरणहरूले देखाउँछ। (१ इतिहास १६:३६; भजन ४१:१३) व्यक्तिगत प्रार्थनाको अन्तमा “आमिन” भन्दा हामीले प्रार्थनामा व्यक्त गरेका कुराहरू साँचो मनले भनेका हौं भनेर जोड दिइरहेका हुन्छौं। हाम्रो निम्ति अरू कसैले प्रार्थना गरिदिंदा अन्तमा मनमनै वा ठूलो स्वरले “आमिन” भन्दा प्रार्थना गर्ने उक्त व्यक्तिले भनेका कुराहरूसित सहमत छौं भनेर देखाइरहेका हुन्छौं।—१ कोरिन्थी १४:१६.

परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?
१६. हामी कुन कुरामा ढुक्क हुन सक्छौं?

१६ के यहोवाले हाम्रो प्रार्थनाको जवाफ साँच्चै दिनुहुन्छ? दिनुहुन्छ! लाखौं मानिसले चोखो मनले गरेको प्रार्थना यहोवाले सुन्नुहुन्छ भनी हामी ढुक्क हुन सक्छौं किनभने उहाँ “प्रार्थना सुन्नुहुने” परमेश्वर हुनुहुन्छ। (भजन ६५:२) यहोवाले विभिन्न तरिकामा हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ।

१७. हाम्रो प्रार्थनाको जवाफ दिन परमेश्वरले स्वर्गदूत र पृथ्वीमा भएका आफ्ना उपासकहरूलाई चलाउनुहुन्छ भनेर किन भन्न सक्छौं?

१७ यहोवाले स्वर्गदूतका साथै पृथ्वीमा भएका आफ्ना उपासकहरूलाई चलाएर हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ। (हिब्रू १:१३, १४) थुप्रै मानिसले बाइबलको कुरा बुझ्न मदत गर्नुहोस् भनेर परमेश्वरलाई प्रार्थना गरेको  अनि त्यसको केही समय बित्न नपाउँदै यहोवाको साक्षीलाई भेटेको घटना सुनाउँछन्‌। यस्ता घटनाहरूले हामी प्रचारमा जाँदा स्वर्गदूतहरूले हामीलाई डोऱ्याइरहेका हुन्छन्‌ भनेर साबित गर्छ। (प्रकाश १४:६) आपत्‌मा परेको बेला प्रार्थना गर्दा यहोवाले हामीजस्तै उहाँको उपासना गर्ने साथीभाइलाई चलाएर हामीलाई चाहिएकै मदत दिनुहुन्छ।—हितोपदेश १२:२५; याकूब २:१६.

एक ख्रीष्टियन जोडीले अशक्त वृद्ध साथीलाई मदत गर्दै छन्‌
यहोवाले हामीजस्तै उहाँका अरू उपासकहरूलाई चलाएर हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ

१८. आफ्ना सेवकहरूको प्रार्थनाको जवाफ दिन यहोवाले कसरी आफ्नो पवित्र शक्ति र बाइबल चलाउनुहुन्छ?

१८ आफ्ना उपासकहरूको प्रार्थनाको जवाफ दिन यहोवा परमेश्वरले  आफ्नो पवित्र शक्ति र आफ्नो वचन बाइबल पनि चलाउनुहुन्छ। विभिन्न समस्या अनि परिस्थितिमा आफ्नो विश्वासको जाँच हुँदा हामी प्रार्थना गर्छौं। त्यस्तो बेला उहाँले आफ्नो पवित्र शक्तिद्वारा डोऱ्याइ अनि बल दिएर हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ। (२ कोरिन्थी ४:७) कुनै ठूलो निर्णय गर्नुअघि यहोवासित प्रार्थना गरेर मदत माग्दा यहोवाले अक्सर बाइबलमार्फत त्यसको जवाफ दिनुहुन्छ। व्यक्तिगत बाइबल अध्ययन गर्दा र हाम्रा प्रकाशनहरू, जस्तै यो किताब पढ्दा चाहिएकै जवाफ भेट्टाइरहेका हुन्छौं। अथवा हाम्रा सभामा छलफल हुने विषय नै हामीले खोजेको जवाफ हुन सक्छ। अथवा मण्डलीको हितमा चासो राख्ने एल्डरहरूले टिप्पणी गर्दा अनजानमै हामीले खोजेको जवाफ दिइरहेका हुन सक्छन्‌।—गलाती ६:१.

१९. कहिलेकाहीं प्रार्थनाको जवाफ नपाएको जस्तो लाग्दा कुन कुरा बिर्सनु हुँदैन?

१९ कहिलेकाहीं यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिन ढिला गर्नुभएजस्तो लाग्न सक्छ। त्यतिखेर उहाँसित हाम्रो प्रार्थनाको जवाफ छैन रहेछ भनेर सोच्नु हुँदैन। बरु उहाँले आफ्नो इच्छाबमोजिम उचित समयमा हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर सम्झनुपर्छ। हामीलाई के चाहिन्छ र ती कसरी पूरा गर्नुपर्छ, हामीलाई भन्दा उहाँलाई राम्ररी थाह छ। उहाँ हामीलाई ‘मागिरहन, खोजिरहन र ढकढक्याइरहन’ प्रोत्साहन दिनुहुन्छ। (लूका ११:५-१०) हामीले प्रार्थना  गरिरह्यौं भने आफूले मागेको कुरा साँच्चै चाहन्छौं अनि परमेश्वरले त्यो कुरा पूरा गरिदिनुहुनेछ भनेर पक्का विश्वास गर्छौं भनेर परमेश्वरले देख्नुहुन्छ। यहोवाले हामीले आसै नगरेको तरिकामा पनि हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ। उदाहरणको लागि, कुनै ठूलो समस्याले हाम्रो विश्वासको जाँच लिइरहेको बेला यहोवाले त्यस समस्यालाई हटाउनुको साटो समस्यासित जुझ्ने बल हामीलाई दिनुहुन्छ।—फिलिप्पी ४:१३.

२०. हामीले किन निरन्तर प्रार्थना गर्नुपर्छ?

२० यहोवा परमेश्वर विशाल ब्रह्माण्डको सृष्टिकर्ता हुनुभए तापनि उहाँलाई मनदेखि प्रार्थना गर्नेजति सबैको प्रार्थना उहाँले सुन्नुहुन्छ। (भजन १४५:१८) त्यसैले यहोवालाई निरन्तर प्रार्थना गरेर यस्तो राम्रो सुअवसरबाट हामी पूरापूर फाइदा उठाऔं। यसो गऱ्यौं भने प्रार्थना सुन्नुहुने परमेश्वरसित हामी झन्‌झन्‌ नजिक हुनेछौं।

बाइबलले के सिकाउँछ?
1.      यहोवालाई निरन्तर प्रार्थना गर्दा उहाँसित नजिक हुन सक्छौं।—याकूब ४:८.
2.      परमेश्वरले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने विश्वास, नम्रता र निष्कपटतासाथ प्रार्थना गर्नुपर्छ।—मर्कूस ११:२४.
3.      हामीले येशूमार्फत यहोवालाई मात्र प्रार्थना गर्नुपर्छ।—मत्ती ६:९; यूहन्ना १४:६.
“प्रार्थना सुन्नुहुने” परमेश्वर यहोवाले स्वर्गदूत, पृथ्वीमा भएका आफ्ना उपासक, पवित्र शक्ति र बाइबलमार्फत हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ।—भजन ६५:२.




by ISAAC Tamang